लेख विवरण

एलभिडी झापा महिला गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब

एलभिडी झापा महिला गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब

भद्रपुर, झापा । झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।

आज सम्पन्न पहिलो सेमिफाइनलमा पुलिसले काठमाडौँको सङ्कटा फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो ।

खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा पुलिसले खेलको लय नियन्त्रणमा लिन सफल भयो । ७० औँ मिनेटमा पूजा रानाको फ्रिकिकमा मिना देउवाले सटिक हेड गर्दै पहिलो गोल गरिन् । त्यसपछि ८२ औँ मिनेटमा रेखा पौडेलले संकटाकी कप्तान यशोदा शाहीको गल्तीको फाइदा उठाउँदै दोस्रो गोल थपिन् ।

उत्कृष्ट प्रदर्शनका लागि पुलिसकी रेखा पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले ट्रफीसहित नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् ।

अब पुलिसले उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाइनलको विजेता एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब मध्ये कुनै एकसँग फाइनलमा भिड्नेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.