शरद भेषवाकरद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
काठमाडौँ, कात्तिक २३ गते।
नेपाली क्रिकेटका दीर्घकालीन स्तम्भ र अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले करिब दुई दशक लामो क्रिकेट यात्राको अन्त्य गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन्।
हङकङमा जारी हङकङ सुपर सिक्सेस प्रतियोगितामा युएईविरुद्धको अन्तिम खेलसँगै आइतबार उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच खेलेका हुन्। सो प्रतियोगितामा उनले नेपालको कप्तानी समेत गरेका थिए।
३७ वर्षीय भेषवाकरले सन् २००२ मा नेपाल यू–१५ टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेका थिए। त्यसपछि सन् २००४ मा युएईविरुद्ध सिनियर राष्ट्रिय टोलीमा डेब्यु गर्दै नेपालको मिडल अर्डर ब्याटिङलाई दीर्घकालीन आधार प्रदान गरे।
सन् २०१४ को टी–२० विश्वकपमा नेपाललाई पहिलो पटक खेलाउने ऐतिहासिक यात्रामा भेषवाकरको भूमिका अत्यन्तै महत्वपूर्ण रह्यो। सो विश्वकपमा उनले नेपालका लागि अनुभव, स्थिरता र जिम्मेवारीपूर्ण ब्याटिङ प्रस्तुत गरेका थिए।
नेपालले डिभिजन–५ बाट सुरु भएको क्रिकेट यात्रा पार गर्दै सन् २०१८ मा एकदिवसीय (ODI) मान्यता प्राप्त गर्दा पनि भेषवाकर टोलीका मुख्य खेलाडीमध्ये एक थिए। नेपाल क्रिकेटको उन्नतिमा उनको निरन्तर योगदानलाई नेपाली क्रिकेटका समर्थक र खेलाडीहरूले विशेष सम्मानका साथ सम्झनेछन्।
हङकङमा सन्न्यास घोषणा गरेपछि भेषवाकरले सामाजिक सञ्जालमार्फत भावनात्मक सन्देश दिँदै लेखे —“नेपाल क्रिकेटले मलाई सबैकुरा दिएको छ। अब म यो यात्राबाट बिदा हुन्छु। सबैको माया र समर्थनका लागि धन्यवाद।”
शरद भेषवाकरले आफ्नो करियरमा नेपालका लागि थुप्रै ऐतिहासिक जितहरूमा योगदान पुर्याउनुका साथै युवा पुस्ताका लागि प्रेरणादायी व्यक्तित्वको रूपमा आफूलाई स्थापित गरेका छन्।

टिप्पणी लेख्नुहोस्