पूर्व राष्ट्रिय प्रशिक्षक पुबुदु दासानायके विराटनगर किङ्सका मुख्य प्रशिक्षक नियुक्त
काठमाडौँ – नेपाली क्रिकेटका समर्थकबीच परिचित नाम बनाइसकेका पूर्व राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्।
विराटनगर किङ्सले दासानायकेसँग औपचारिक रूपमा सम्झौता गरेको जानकारी दिएको छ। दासानायकेको नेतृत्वमै जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करणको उपाधि जितेको थियो, जसपछि उनलाई पुनः अर्को फ्रेन्चाइज टोलीले जिम्मेवारी सुम्पिएको हो।
एसोसिएट क्रिकेटमा अनुभवी प्रशिक्षक दासानायके हाल अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पनि हुन्। उनको निर्देशनमा अमेरिकाले हालै सम्पन्न विश्वकप लिग–२ अन्तर्गत युएईमा भएको त्रिकोणात्मक सिरिजका सबै चार खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।
अमेरिका अहिले लिग–२ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
विराटनगर किङ्समा यस सिजनका लागि लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडीका रूपमा रहेका छन्। फ्रेन्चाइजले आगामी सिजनमा बलियो प्रदर्शन गर्ने लक्ष्यसहित टोली गठनलाई अन्तिम रूप दिइरहेको जनाएको छ।
टिप्पणी लेख्नुहोस्