लेख विवरण

चार महिनाभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने सहमति

चार महिनाभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने सहमति

काठमाडौँ, कात्तिक २५ गते । लामो समयदेखि रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी चार महिनाभित्र सञ्चालन गर्ने सहमति भएको छ। युवा तथा खेलकुद मन्त्रालयको पहलमा मंगलबार सिंहदरबारमा भएको छलफलमा अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजन क्लबका प्रतिनिधिहरूबीच लिग सञ्चालनको विषयमा सहमति जुटेको हो।

मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको उक्त बैठकमा एन्फाका पदाधिकारी, क्लब प्रतिनिधि तथा फुटबल खेलाडी सङ्घका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। छलफलपछि लिग १२० दिनभित्र सुरु गर्ने सहमति गरिएको एन्फा स्रोतले जनाएको छ।

बैठकमा एन्फाले फागुनको अन्तिम सातादेखि लिग सुरु गर्ने प्रस्ताव अघि सारेको थियो भने मन्त्री गुप्ताले एन्फालाई सोही अनुसार मिति तय गरी तयारी थाल्न निर्देशन दिएका छन्।

यसअघि कात्तिक १७ गते एन्फा मुख्यालय सातदोबाटोमा भएको बैठकले पुस ९ गतेबाट लिग सुरु गर्ने प्रारम्भिक निर्णय गरेको थियो। तर, विभिन्न कारणले कार्यान्वयन हुन नसकेपछि खेलाडीहरू आन्दोलनमा उत्रिएका थिए।

लगातार तीन वर्षदेखि शीर्ष डिभिजनको लिग नहुँदा धेरै प्रतिभाशाली खेलाडी विदेशिएका छन्। हालको सहमतिले नेपाली फुटबलमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.