एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ : चित्लाङ क्लबको विजयी सुरुवात, जनजागृति युवा क्लब २–० ले पराजित
काठमाडौँ, कात्तिक २७ गते। एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत बिहीबार सम्पन्न खेलमा चित्लाङ फुटबल क्लबले जनजागृति युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ।
चित्लाङका लागि पहिलो हाफमा विज्ञान खड्काले अग्रता दिलाए भने दोस्रो हाफमा मदन स्याङतानले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
उता, सोही दिन भएको अर्को खेलमा लालीगुराँस एसोसिएसन र देउराली क्लबबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको छ।
यो प्रतियोगिता मकवानपुरको हेटौडामा मङ्सिर २ गतेसम्म जारी रहनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। लिग कम नकआउट प्रारूपमा सञ्चालन भइरहेका खेलहरूबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूले उपाधि जित्ने मौका पाउने छन्।
प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ, जसअन्तर्गत दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
सेमिफाइनलमा स्थान बनाउने टोलीहरूले राष्ट्रिय लिगमा पनि प्रवेश पाउने एन्फाले जनाएको छ।

टिप्पणी लेख्नुहोस्