भारतका प्रियाङ्क पन्चाल कर्णाली याक्समा अनुबन्धित, एनपिएल दोस्रो सिजनमा खेल्ने
काठमाडौँ, कात्तिक २७ गते। भारतीय क्रिकेटर प्रियाङ्क किरित पन्चाल नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि कर्णाली याक्स स्पोर्ट्स प्रालिमा अनुबन्धित भएका छन्।
३५ वर्षीय ओपनर ब्याट्सम्यान प्रियाङ्क कर्णालीमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन्। यसअघि क्लबले अष्ट्रेलियाका विलियम बोसिस्टोसँग सम्झौता नवीकरण गरेको थियो।
त्यसअघि, कर्णालीले स्कटल्यान्डका मार्क वाट र नेदरल्यान्ड्सका म्याक्स ओ’डाउडलाई समेत अनुबन्ध गरिसकेको छ।
भारतीय घरेलु क्रिकेटमा गुजरातका प्रतिनिधित्व गर्ने प्रियाङ्क पन्चालले रणजी ट्रफीमा निरन्तरता दिँदै आएका छन्। उनले हालसम्म ५९ टी–२० खेलमा नौ अर्धशतकसहित १,५२२ रन बनाएका छन्।
उनी पछिल्लो पटक भारतीय टोलीबाट हङकङ सुपर सिक्सेसमा सहभागी भएका थिए।
कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र मार्की खेलाडी सोमपाल कामी रहेका छन्।
आठ टोलीको सहभागिता रहने नेपाल प्रिमियर लिग (NPL) आगामी मङ्सिर १ देखि २७ गतेसम्म आयोजना हुने तय गरिएको छ।

टिप्पणी लेख्नुहोस्