भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालको दोस्रो जित, अस्ट्रेलिया आठ विकेटले पराजित
काठमाडौँ, कात्तिक २९ गते । भारतमा चलिरहेको दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै दोस्रो जित दर्ता गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले अस्ट्रेलियालाई सहजै ८ विकेटले पराजित गर्यो।
अस्ट्रेलियाले दिएको १३७ रनको लक्ष्य नेपालले १४.५ ओभरमै दुई विकेटको क्षतिमा पूरा गर्दै शानदार जित हात पारेको हो। नेपालका लागि विनिता सोमाईले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५६ रन जोडिन् भने मनकेशी चौधरीले नटआउट ४३ र सुस्मा तामाङले २२ रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा १३० को दशक पार गर्दै ६ विकेट गुमाउँदै १३६ रन बनाएको थियो। उनकी ब्याटर कोर्टनी लुइसले ३१, जेनिफर पेरीले ३० र अमेलिया हर्टले २१ रन जोड्न सफल भए।
नेपालकी सुनिता भुजेलले एक विकेट लिइन भने बलिङमा गरेको कसीका कारण अस्ट्रेलियाका पाँच खेलाडी रनआउट हुन बाध्य भएका थिए।
तीन खेलबाट चार अंक जोडेको नेपाल हाल समूहको दोस्रो स्थानमा उक्लिएको छ, जबकि पराजित अस्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ।

टिप्पणी लेख्नुहोस्