पोखरामा माघ ९ देखि १९ सम्म छैटौँ टाइगर कप भलिबल प्रतियोगिता हुने
काठमाडौँ, कात्तिक २९ — आगामी माघ ९ देखि १९ गतेसम्म पोखरामा आयोजना हुने छैटौँ टाइगर कप भलिबल प्रतियोगिताको तयारी तीव्र बनेको आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ। शनिबार काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा ग्रुपका अध्यक्ष नारायण शर्माले पुरुष तथा महिलाको अन्तर्राष्ट्रिय क्लबस्तरको भलिबल प्रतियोगिता यस वर्ष अझ भव्य रूपमा सम्पन्न हुने जानकारी दिए।
उनका अनुसार, प्रतियोगितामा विजेता भएका टिमलाई ६ लाख ६६ हजार ६ सय रुपैयाँ पुरस्कार दिइनेछ। उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् भने तेस्रो स्थानमा रहने टोलिले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँसहित सम्मान पाउनेछ।
व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कार राखिएको आयोजकले जनाएको छ। उत्कृष्ट खेलाडी (MVP) ले २६ हजार ६ सय ६६ रुपैयाँ हात पार्नेछन्। त्यस्तै विभिन्न विधामा उत्कृष्ट ठहरिने खेलाडीहरूलाई ११ हजार ६ सय ६६ रुपैयाँका दरले नगद प्रदान गरिनेछ।
आयोजक समितिका अनुसार नेपालका अग्रणी क्लबहरूसँगै छिमेकी तथा अन्य मुलुकका प्रतिष्ठित भलिबल क्लबहरूको सहभागिता रहने भएकाले प्रतिस्पर्धा उच्चस्तरीय हुने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्