लेख विवरण

नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपको सेमिफाइनलमा

नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ।
भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

यस जितसँगै नेपालले चार खेलबाट ६ अंक हासिल गरेको छ। नेपालले यसअघि अष्ट्रेलिया र श्रीलङ्कालाई पराजित गरिसकेको थियो भने दोस्रो खेलमा आयोजक भारतसँग पराजित भएको थियो।

अमेरिकाले दिएको १८ रनको सामान्य लक्ष्य नेपालले चार बलमै पूरा गर्यो। नेपालका लागि दिलसरा धमलाले अविजित १२ रनको योगदान दिँदै टोलीलाई सहज जित दिलाइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ९.४ ओभरमा सबै विकेट गुमाउँदै १७ रन मात्र बनाउन सक्यो। यो दृष्टिविहीन क्रिकेट इतिहासमै अहिलेसम्मकै सबैभन्दा कम योगफल हो। यसअघि सन् २००६ मा वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध २१ रन मात्र बनाएको थियो।

अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। नेपालका लागि दिलसरा धमलाले ३ विकेट तथा सुनिता घिमिरेले १ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। उत्कृष्ट प्रदर्शनका आधारमा दिलसरा धमला ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.