लेख विवरण

भक्तपुरका क्रिकेट फ्यानहरुको गुनासोपछि RONB ले सुरु गर्यो निशुल्क बस सेवा, आजदेखि खेल अवधिभर सञ्चालन

भक्तपुरका क्रिकेट फ्यानहरुको गुनासोपछि RONB ले सुरु गर्यो निशुल्क बस सेवा, आजदेखि खेल अवधिभर सञ्चालन

काठमाडौं । नेपाली क्रिकेट उत्साहले देशभर तातेका बेला, नेपाल प्रिमियर लिग अन्तर्गत रातिको खेल हेरेर फर्किने क्रममा भक्तपुरका क्रिकेट फ्यानहरूले “बस नपाउने समस्या” बढ्दै गएको गुनासो गर्न थालेका थिए। विशेषगरी महिलाहरू, वृद्धहरू तथा अशक्त समर्थकहरू घर फर्कन समस्या परेको आवाज सार्वजनिक भएपछि RONB (Routine of Nepal banda) ले पहलकदमी लिएको छ।

यसै सन्दर्भमा RONB ले आजदेखि एनपिएल खेल अवधिभर टियु क्रिकेट मैदान गेट–३ बाट सातदोबाटो – कोटेश्वर – सल्हाघारी – सूर्यविनायकसम्म चल्ने निशुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

यस सेवाअनुसार प्रत्येक दिन बेलुकी ६ बजेदेखि ८ बजेसम्म एनपिएल हेर्न आएका तथा आफ्नै सवारी साधन नभएका दर्शकका लागि बस उपलब्ध हुनेछ।

RONB ले विशेष रूपमा राति घर फर्कन अप्ठ्यारो परेका महिला, ज्येष्ठ नागरिक तथा अशक्तहरूलाई लक्षित गरेर सेवा सुरु गरिएको जनाएको छ।

RONB का अनुसार, “क्रिकेट केवल खेल मात्र होइन, नेपालीहरूलाई एकजुट गराउने उत्सव हो। यही उत्सवलाई सहज, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउन हामीले यो कदम चालेका हौँ।”

एनपिएलको माहोल दिनप्रतिदिन उत्साहजनक बन्दै गर्दा यस प्रकारको सुविधा थप व्यवस्थित र समावेशी क्रिकेट संस्कृति निर्माणतर्फ महत्त्वपूर्ण कदम मानिएको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.