लेख विवरण

एनओसी र हेल्थ कन्सर्नबीच अन्तर्राष्ट्रिय स्वास्थ्य खेलकुद परियोजनाको दोस्रो चरणबारे छलफल

एनओसी र हेल्थ कन्सर्नबीच अन्तर्राष्ट्रिय स्वास्थ्य खेलकुद परियोजनाको दोस्रो चरणबारे छलफल

काठमाडौँ, मङ्सिर ४ गते।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (IOC) र विश्व स्वास्थ्य संगठन (WHO) द्वारा संयुक्त रूपमा सञ्चालन भइरहेको खेलकुदमार्फत स्वास्थ्य प्रवर्धन परियोजनाको दोस्रो चरणको प्रगतिबारे बुझ्न नेपाल ओलम्पिक कमिटी (NOC) ले बिहीबार हेल्थ कन्सर्नका प्रतिनिधिसँग भेटघाट गरेको छ।

मुलुकमा खेलकुदमार्फत् स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यसहित अघि बढाइएको यस परियोजनाबारे छलफलका लागि NOC का उपाध्यक्ष चतुरानन्द राजवैद्य र सचिव रमेश सिवाकोटीले हेल्थ कन्सर्नका प्रोग्राम म्यानेजर राजेन्द्र थापा तथा एड्मिन–फाइनान्स अफिसर ममता पौडेलसँग बैठक गरेका थिए।

बैठकमा परियोजनाको कार्यान्वयन, योजना, समन्वय तथा दोस्रो चरणमा आवश्यक पर्ने तयारीबारे विस्तृत कुराकानी भएको NOC ले जनाएको छ।

यसअघि पनि NOC ले स्वास्थ्यसम्बन्धी काम गर्दै आएका संस्था पाथ र हेल्थ कन्सर्नका प्रतिनिधिसँग पहिलो चरणको प्रगति तथा सिकाइहरूबारे समीक्षा गरेको थियो। खेलकुद र स्वास्थ्य क्षेत्रको समन्वयका लागि पाथलाई मुख्य सहकार्यकर्ता जिम्मेवारी दिइएकै बखत परियोजनाको फिल्ड–स्तरका कार्यक्रमको कार्यान्वयन भने हेल्थ कन्सर्नमार्फत चलिरहेको छ। हेल्थ कन्सर्न बोलकबोल प्रक्रियामार्फत् परियोजनामा सहभागी हुन चयन गरिएको हो।

परियोजनामा IOC र WHO को आर्थिक तथा प्राविधिक सहयोग रहेको छ। नेपालमा बागमती प्रदेशको खेलकुद तथा स्वास्थ्य मन्त्रालयले चितवन, ललितपुर, मकवानपुर र नुवाकोट गरी चार जिल्लालाई परियोजनाका लागि छनोट गरिसकेको छ।

IOC र WHO ले पहिलो चरणमा नेपालसहित भियतनाम, पेरु, तान्जानिया र घाना गरी पाँच देशलाई परियोजना सञ्चालनका लागि चयन गरेको थियो। परियोजनामा प्रभावकारी प्रगति भएको भन्दै दोस्रो चरणका लागि पनि नेपाल पुनः चयन भएको हो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.