एनपिएलमा पहिलो पटक टस जितेर पोखराको ब्याटिङ रोजाइ, जनकपुरको तीन नयाँ अनुहार मैदानमा
काठमाडौं। पोखरा एभेन्जर्सले जारी नेपाल प्रिमियर लिग (एनपिएल) को १४ औँ खेलमा टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। यसअघि प्रतियोगिताका सबै खेलहरूमा टस जित्ने टोलीले फिल्डिङ रोज्दै आएको अवस्थामा पोखराको निर्णयले आजको खेलमा नयाँ रणनीतिसँगै नयाँ रोचकता थपेको छ।
साविक उपविजेता जनकपुर बुल्सले भने पहिला बलिङ गर्दै खेल नियन्त्रणमा लिन चाहेको बताइएको छ।
पोखराले अघिल्लो खेलको टोलीमा एक परिवर्तन गर्दै तृतराज दासलाई प्लेइङ–११ मा समावेश गरेको छ। लगातार हारको श्रृंखला रोक्न टोलीले नयाँ संयोजन परीक्षण गरेको देखिन्छ।
जनकपुरले भने तीन खेलाडीलाई आज पहिलो पटक मैदानमा उतार्दै नयाँ संयोजनलाई मौका दिएको छ। शुभ कंसाकार, माज सदाकत र वायन पार्नेल आजको खेलमा बुल्सका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
तालिकाको पुछारमा रहेका दुवै टोली—पोखरा र जनकपुर—ले यसअघि खेलिएका दुई–दुई खेलमा पराजय बेहोरेका थिए। आजको भिडन्तले दुवै मध्ये एक टोलीलाई अंक तालिकामा पहिलो जीत दिलाउनेछ।
-
जनकपुर काठमाडौंबिरुद्ध ५ विकेटले र विराटनगरसँग ९ रनले पराजित भएको थियो।
-
पोखरा विराटनगरसँग ५३ रनले र सुदूरपश्चिम रोयल्ससँग १८ रनले हारेको थियो।
यसैले आजको खेल दुवै टोलीका लागि टुर्नामेन्टमा फिर्ती गर्ने अवसरको रूपमा हेरिएको छ।
आजको खेलमा पोखरा ग्लाडियटर्स ‘ग्लासियर्स म्याटर’ लेखिएको हरियो जर्सीमा देखिनेछ। जलवायु परिवर्तनका प्रभावबारे चेतना फैलाउने उद्देश्यले यस्तो जर्सी तयार गरिएको बताइएको छ।
जनकपुर बुल्सका खेलाडीहरूले भने आफ्ना आमाको नाम अंकित जर्सी लगाउने विशेष पहल अघि सारेका छन्, जसले खेलमा भावनात्मक रंग थपेको छ।
दुबै टोलीले आजका जर्सीलाई अक्सन गर्नेछन्।
-
पोखराले संकलित रकमलाई जलवायु परिवर्तन सम्बन्धी अभियान चलाउने संस्थालाई सहयोग गर्नेछ।
-
जनकपुरले भने जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूलाई सहयोग गर्ने जनाइएको छ।

टिप्पणी लेख्नुहोस्