कोरियन एम्बेस्डर तेक्वान्दोको तयारी पूरा
काठमाडौं । १३औं कोरियन एम्बेस्डर इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपको तयारी पूरा भएको छ । मंसिर १५ देखि २० गतेसम्म ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका अध्यक्ष भानबहादुर चन्दले जानकारी दिए ।
यसअघि राष्ट्रिय रुपमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस पटकदेखि अन्तर्राष्ट्रिय रुपमा आयोजना गर्न लागिएको हो । च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले पनि प्रतिस्पर्धा गर्ने छन् । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको विशेष सहयोगमा सञ्चालन हुने च्याम्पियनसिपलाई भब्य र सब्य रुपमा सम्पन्न गर्न नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दको अध्यक्षतामा सात सदस्यीय मूल आयोजक समिति र १० उपसमिति गठन गरिएको छ ।
च्याम्पियनसिप सञ्चालनका लागि नेपालका ४० जना अन्तर्राष्ट्रिय निर्णायक पनिचालन गरिने संयोजक चन्दले जानकारी दिए । उनका अनुसार च्याम्पियनसिपमा भारत, पाकिस्तान, बंगलादेश र भुटानसँगै नेपालका सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपमा ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई पनि समावेश गरिएको छ । च्याम्पियनसिपमा तीन वटै विधामा एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपका विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

टिप्पणी लेख्नुहोस्