भारतद्धारा दक्षिण अफ्रिकामाथि पहिलो एकदिवसीयमा १७ रनको जित, श्रृंखलामा १-० को अग्रता
काठमाडौं। भारतले राँचीको JSCA अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार खेलिएको तीन एकदिवसीय खेलको पहिलो प्रतियोगितामा दक्षिण अफ्रिकालाई 17 रनले पराजित गर्दै श्रृंखलामा 1–0 को अग्रता बनाएको छ। टस जितेर बलिङ रोजेको दक्षिण अफ्रिकाविरुद्ध भारतले विराट कोहलीको शतकको दममा 349 रनको विशाल योगफल खडा गरेको थियो।
जवाफमा दक्षिण अफ्रिकाले उत्कृष्ट प्रतिरोध प्रदर्शन गरे पनि निर्धारित 50 ओभरमा 332 रनमै समेटियो।
भारतका लागि विराट कोहलीले 135 रनको उत्कृष्ट पारी खेले। उनका अतिरिक्त रोहित शर्माले 57 रन र कप्तान केएल राहुलले 60 रन जुटाए।
बलिङ पक्षमा कुलदीप यादवले 4 विकेट लिए भने हर्षित राणाले 3 र अर्शदीप सिंहले 2 विकेट लिए।
दक्षिण अफ्रिकाका लागि मार्को यानसन, नान्द्रे बर्गर, कोर्बिन बोश र ओटनिल बार्टम्यानले 2–2 विकेट हात पारे।
350 रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुवात निकै खराब रह्यो। टोलीले 11 रनभित्र नै 3 विकेट गुमायो।
पछि मैथ्यु ब्रीट्ज्की र मार्को यानसनले पारी सम्हाल्ने प्रयास गरे तर दुबै एकै ओभरमा पवेलियन फर्किए।
अन्त्यतिर कोर्बिन बोशले शानदार फिफ्टी प्रहार गर्दै टोलीलाई गेममा फर्काउने कोसिस गरे, तर उनको मेहनत जितमा रूपान्तरण हुन सकेन।
भारतीय पारीमा विराट कोहलीले आफ्नो 52औँ एकदिवसीय शतक प्रहार गरे। यससँगै उनी क्रिकेटको कुनै पनि एक प्रारूप (टेस्ट, ODI, T20I) मा सबैभन्दा धेरै शतक प्रहार गर्ने खेलाडी बने।
यसअघि यो रेकर्ड सचिन तेन्दुलकरको नाममा थियो, जसले टेस्ट क्रिकेटमा 51 शतक बनाएका थिए।
रोहित शर्माले 20औँ ओभरमा मार्को यानसनको बलमा छक्का प्रहार गर्दै वनडे क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी बने।
उनले पाकिस्तानका शाहिद अफ्रिदीको 351 छक्काको रेकर्ड तोडेका छन्।
दुवै टोलीबीचको दोस्रो एकदिवसीय खेल आगामी डिसेम्बर ३ मा रायपुरमा खेलिनेछ।

टिप्पणी लेख्नुहोस्