लेख विवरण

एसीसी यू-१९ प्रिमियर कपमा नेपाल पराजित, एसिया कपमा श्रीलंका, बङलादेश र अफगानिस्तानसँग भिड्ने

एसीसी यू-१९ प्रिमियर कपमा नेपाल पराजित, एसिया कपमा श्रीलंका, बङलादेश र अफगानिस्तानसँग भिड्ने

काठमाडौं। एसीसी यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल यूएईसँग २७ रनले पराजित भएको छ। यूएईको अजमान स्थित कारवान क्रिकेट मैदानमा घरेलु टोलीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३३.२ ओभरमा १ सय २० रन बनाउदै अलआउट भयो। टोलीका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाए। विकेट किपर आशिष लोहार र रोशन विश्कर्माले समान २५-२५ रन बनाए। त्यस्तै ओपनर वंश क्षेत्रीले ११ रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन्।

यूएईका लागि युग जय शर्मा र अलि असगर शुम्सले समान ३-३ विकेट लिए। उदिश सुरी र नुर उल्लाह अयोबीले २-२ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले ४५.५ ओभरमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो। टोलीका लागि अहमद खुद्धादले सर्वाधिक ७१ रन बनाए। नुर उल्लाह अयोबी र आयान मिसबाहले क्रमशः २६ र २१ रन बनाए। त्यसबाहेक नेपाली बलरसामु यूएईका खेलाडीहरु निरिह बन्दै दोहरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि बलिङमा दयानन्द मण्डलले ६.५ ओभरमा २ मेडन सहित १७ रन खर्चेर सर्वाधिक ६ विकेट लिए। त्यस्तै अपराजित पौडेलले २ तथा नितेश कुमार पटेल र अशोक धामीले समान १-१ विकेट लिए।

हारसँगै नेपाल प्रतियोगितामा दोस्रो हुँदै एसीसी यू-१९ एसिया कपको समुह बी मा परेको छ। उक्त समुहमा टेस्ट राष्ट्र श्रीलंका, बङलादेश र अफगानिस्तान रहेका छन्। प्रतियोगिता यूएई मै यहि डिसेम्बर १२ देखी २१ तारिखसम्म संचालन हुनेछ।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल १३ डिसेम्बरमा श्रीलंकाविरुद्ध खेल्नेछ। त्यस्तै दोस्रो खेल डिसेम्बर १५ मा बङलादेश र १७ मा अफगानिस्तानसँग खेल्नेछ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.