लेख विवरण

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आजबाट सुरु

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आजबाट सुरु

काठमाडौं । नेपाल तेक्वान्दो संघ तथा नेपालस्थित दक्षिण कोरियाली दूतावासको आयोजनामा १३औँ कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा उद्घाटन समारोह सम्पन्न सम्पन्न भएको छ।

उद्घाटन समारोह संघका अध्यक्ष दीपराज गुरुङको अध्यक्षतामा भएको थियो। कार्यक्रमका प्रमुख अतिथि पूर्व युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका थिए भने विशिष्ट अतिथिको रूपमा नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क ताइ योङ उपस्थित थिए।

मन्त्री श्रेष्ठ र राजदूत पार्क ताइ योङले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए।

१३औँ संस्करणको यस अन्तर्राष्ट्रिय प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानका गरी १,५५० खेलाडी सहभागी छन्। प्रतियोगितामा ६१ स्वर्ण, ६१ रजत तथा १२२ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।

मंसिर २० गते (डिसेम्बर ६) सम्म सञ्चालन हुने यो प्रतियोगिता नेपालको तेक्वान्दो क्षेत्रमा आयोजित सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामध्ये एक मानिन्छ।

विभागीय टोली नेपाल पुलिस क्लबका प्रेमबहादुर लिम्बूले पुरुष एकल पुम्सेको ४० वर्षमुनि समूहमा स्वर्ण पदक जितेका छन्। १३औँ दक्षिण एसियाली खेलकुद (साग) का कांस्य पदक विजेता लिम्बूले उत्कृष्ट प्रदर्शन गर्दै पदक हात पारे।

यसै स्पर्धामा आर्मीका रेजिन रिमालले रजत तथा अल्फा तेक्वान्दो डोजाङ दाङका दामोदर शर्माले कांस्य पदक जिते।

महिला ४० वर्षमुनिको एकल पुम्सेमा एपीएफकी प्रतिभा भिष्टाले स्वर्ण पदक हात पारिन्। आर्मीकी सविना भट्टराई दोस्रो भइन्।

त्यस्तै, छात्र १०–१२ वर्ष समूहको व्यक्तिगत पुम्सेमा चन्द्रमा डोजाङ, सुनसरीका प्रकाश श्रेष्ठले स्वर्ण पदक जिते।
बालाजु डोजाङका रावल पण्डित दोस्रो भए भने स्वयम्भू डोजाङका रोजकुमार तामाङ र स्वस्तिक डोजाङका सुमन तामाङले कांस्य पदक प्राप्त गरे।

उद्घाटन समारोहका क्रममा दक्षिण कोरियाली दूतावासले नेपाल तेक्वान्दो संघलाई आवश्यक खेलकुद सामग्री प्रदान गरेको छ। राजदूत पार्क ताइ योङले सामग्री संघका अध्यक्ष दीपराज गुरुङलाई हस्तान्तरण गरेका थिए।

त्यसैगरी पूर्व युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई मानार्थ छैटौँ डान प्रदान गरिएको छ।
संघका उपाध्यक्ष साम्राज्यविक्रम पाण्डे, बागमती प्रदेश अध्यक्ष केशव पुरी, तथा पर्यटन व्यवसायी सञ्जय बजिमयलाई मानार्थ पाँचौँ डान प्रदान गरिएको हो।

च्याम्पियनसिपमा ग्योरोगी, पुम्से र पारा तेक्वान्दो तीनै विधामा कुल १,५३० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता संचालनका लागि ४० जना अन्तर्राष्ट्रिय निर्णायक परिचालन गरिएको छ।

विजेताहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.