लेख विवरण

कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो : सीतापाइलाकी चाँदनी पहिलो

कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो : सीतापाइलाकी चाँदनी पहिलो

काठमाडौं । सीतापाइला तेक्वान्दो डोजाङकी चाँदनी खातुनले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पहिलो स्थान हात पारेकी छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा बिहीबार भएको क्याडेटको महिला ४० केजीमुनिको तौल समूहमा उनले पहिलो स्थान हासिल गरेकी हुन् । फोनिक्स डोजाङकी सुभानी माझीले दोस्रो तथा मधेस प्रदेशकी सन्तोषी कुमारी र दीलिप स्मृति डोजाङकी श्रीयुक्ता लामाले तेस्रो स्थान हात पारे ।

यस्तै महिला क्याडेटकै २९ केजीमुनिको तौल समूहमा सानोठिमी डोजाङकी हृदयनी बस्नेतले स्वर्ण पदक जितिन् । उनले आकृतिकुमारी सिंहलाई पराजित गरिन् । जैशीदेवल डोजाङकी ब्रिटिसा तामाङ र ऋत डोजाङकी दक्षता रावलले कांस्य पदकमा चित्त बुझाए ।

नेपाल तेक्वान्दो संघको आयोजना र नेपालस्थित दक्षिण कोरियाली दूतावासको विशेष सहयोगमा सञ्चालित च्याम्पियनसिपको क्याडेट महिलाको ३३ केजीमुनिको तौल समूहमा द नेक्स्ट लेभल डोजाङकी प्रतिभा खड्का, मध्यपुर डोजाङकी मोनालिसा धामी, दीलिप स्मृति डोजाङकी रनिसा गौतम र बालाजु डोजाङकी जमुना भण्डारीले क्रमसः पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे ।

यसैगरी सिनियर महिलाको ६२ केजीमुनिको तौल समूहमा विभागीय टोली त्रिभुवन आर्मी क्लबकी सुस्मिता मोक्तानले पहिलो स्थान हात पारिन् । उनले फाइनलमा एपीएफ क्लबकी रेणु लामालाई पराजित गरिन् । भुटानकी सोनम याङ्जोम र राष्ट्रिय टिमकी दिलिका तामाङले तेस्रो स्थानमा चित्त बुझाए । यसैगरी सिनियर महिलाकै ६७ केजीमुनि एपीएफकी रेजिना पार्कीले स्वर्ण पदक जितिन् । उनले फाइनलमा नेपाल पुलिसकी अनामिका तामाङलाई पाखा लगाइन् । बिन्दु कार्की र अनुषाकुमारी चौधरीले कांस्य पदकमा चित्त बुझाए ।

यसैगरी जुनियर पुरुषको ५१ केजीमा घोराहीका सुभमजंग कँवर, घोराहीकै अनमोल घर्तीमगर, दीलिप स्मृतिका समिर पटेल र प्रशान्त सिंहले क्रमसः पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे । जुनियर पुरुषकै ६३ केजीमुनि खुदुनाबारी डोजाङका प्रदीप विश्वकर्माले स्वर्ण, कञ्चनपुरका विशेष सिंहले रजत तथा फेयरल्यान्डका विक्रम श्रेष्ठ र स्वयम्भू डोजाङका प्रवेश श्रेष्ठले कांस्य पदक प्राप्त गरे । जुनियर पुरुषकै ६८ केजीमुनि ऋतका रोशन बम पहिलो भए । उनले फाइनलमा खुदुनाबारीका सञ्जल श्रेष्ठलाई पराजित गरे । कञ्चनपुरका आयुष चन्द र मातातीर्थ डोजाङका अविन शाक्यले तेस्रो स्थान हात पारे ।

यसैगरी जुनियर महिलाको ६३ केजीमुनि सानोठिमीकी सोया चक्रधर पहिलो, जैशीदेवलकी मोविक्षा गजुरेल दोस्रो तथा स्वस्तिककी एरिका माझी र मैजुकुमारी डोजाङकी गरिमा गुरुङले तेस्रो स्थान हात पारे । जनियर महिलाकै ५२ केजीमुनि विजेश्वरीकी सामना विष्टले स्वर्ण जित्दा सन्ध्या चेपाङले रजत, फुरु लामा र निरजला महतोले कांस्य पदक प्राप्त गरे ।

मंसिर २० गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । च्याम्पियनसिपमा ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई पनि समावेश गरिएको छ । च्याम्पियनसिपमा तीन वटै विधामा एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक भान बहादुर चन्दले जानकारी दिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.