लेख विवरण

कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो : गीता र अभिषेकलाई स्वर्ण

कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो : गीता र अभिषेकलाई स्वर्ण

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रबार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीता र सिनियर पुरुषको ८० केजीमुनिको तौल समूहमा अभिषेकले स्वर्ण पदक जितेका हुन् । गीता र अभिषेक राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको मिसन–२०२६ को विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् ।

सिनियर महिलामा आर्मीकै बीणा नाथले रजत तथा चन्द्रनिगाहपुरकी कञ्चन खड्का र आर्मीकै आरती सिंहले कांस्य पदक प्राप्त गरे । पुरुषमा पारस चन्दले रजत जित्दा धौगागिरी डोजाङका विशान्त केसी र आर्मीका सुवास केसीले कांस्य पदक जिते ।

नेपाल तेक्वान्दो संघको आयोजना र नेपालस्थित दक्षिण कोरियाली दूतावासको विशेष सहयोगमा सञ्चालित च्याम्पियनसिपको सिनियर पुरुषको ६८ केजीमुनि आर्मीका सगुन श्रेष्ठ पहिलो, आर्मीकै धनसिंह परियार दोस्रो तथा पोखरी डोजाङका अनिस जिसी र पुलिसका भुवन महराले तेस्रो स्थान हात पारे । यसैगरी जुनियर पुरुषको ५५ केजीमुनि दीलिप स्मृति डोजाङका करण ढोली, ऋत डोजाङका राजु ऐर, नागार्जुन डोजाङका सुदीप नेपाल र कञ्चनपुरका क्रिस बुढाथोकीले क्रमसः पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे । यही तौल समूहको महिलामा गोर्खाली डोजाङकी प्रतिमा भुजेलले स्वर्ण जितिन् । उनले गोर्खालीकै पूर्णिमा श्रेष्ठलाई पराजित गरिन् । काँकडभिट्टाकी तायामी राई र अल्फ डोजाङकी अञ्जना विष्टले कांस्य पदक जिते ।

मंसिर २० गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । च्याम्पियनसिपमा ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई पनि समावेश गरिएको छ । च्याम्पियनसिपमा तीन वटै विधामा एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक भानबहादुर चन्दले जानकारी दिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.