फुङलिङ, मङ्सिर २० — कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको उपाधि फुङलिङ नगरपालिकाले आफ्नो बनाएको छ। शनिबार सम्पन्न फाइनलमा फुङलिङले कडा प्रतिस्पर्धी मेरिङदेन गाउँपालिकालाई ट्राइबेकरमा ४–३ ले हराउँदै शीर्ष स्थान कब्जा गर्यो।
सम्पूर्ण खेल रोमाञ्चक बनेको थियो। निर्धारित ९० मिनेटसम्म दुवै टोलीले समान १–१ गोल गरेपछि नतीजा ट्राइबेकरमार्फत टुंगाइएको हो। खेलको सुरुआती चरणमै फुङलिङका लागि घिनकुमारी गुरुङले १३औँ मिनेटमा उत्कृष्ट फिनिसिङ गर्दै अग्रता बनाइदिएकी थिइन्। तर ७५औँ मिनेटमा मेरिङदेनकी सुस्मा लिम्बूले बराबरी गोल फर्काउँदै खेललाई निकै रोमाञ्चक बनाइन्।
फाइनल पुग्ने क्रममा फुङलिङले मैवाखोलालाई २–० ले हराएको थियो भने मेरिङदेनले पाथीभरा याङवरकलाई ५–० को फराकिलो अन्तरमा पराजित गर्दै निर्णायक चरणमा स्थान बनाएको थियो।
उपाधिसहित फुङलिङ नगरपालिकाले नगद २,०२,०८२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता मेरिङदेन गाउँपालिकाले नगद १,०२,०८२ रुपैयाँ पुरस्कारमा चित्त बुझायो। पुरस्कार वितरण कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिँह हाङ्गामले गर्नुभएको थियो।
प्रतियोगितामा मिक्वाखोला बाहेक जिल्लाका आठवटै स्थानीय तहको सहभागिता रहेको आयोजकले जनाएको छ।
टिप्पणी लेख्नुहोस्