आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय टोली बुद्धिचाल प्रतियोगिता सुरु, २२ टिमको सहभागिता
काठमाडौँ, मङ्सिर २१ — ललितपुर स्पोर्ट्स क्लबले आयोजना गरेको आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप आइतबारदेखि सुरु भएको छ। देशभरका अग्रस्थानका खेलाडीसमेत समावेश भएका २२ टिमले उद्घाटन दिनमै प्रतिस्पर्धा गरेका छन्।
उद्घाटन खेलमा आयोजक ललितपुर स्पोर्ट्स क्लबले सानदार खेल प्रदर्शन गर्दै काठमाडौँ चेस क्लबमाथि जित दर्ता गर्यो। त्यसैगरी ललितपुर महानगरपालिका टोलीले पनि ब्यक्तिगत तथा सामूहिक तालमेल प्रदर्शन गर्दै भक्तपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गर्न सफल रह्यो।
साविक च्याम्पियन थापाथली चेस पार्कले आफ्नो विजयी अभियान दोहोर्याउँदै सुदूरपश्चिम बुद्धिचाल संघलाई हरायो। दोलखा चेस होमले गोदावरी नगरपालिकालाई सहजै पाखा लगायो भने पेभिलोन चेस एकेडेमीले ललितपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गर्दै बलियो दाबी प्रस्तुत गर्यो।
अन्य खेलमा मध्यपुर थिमी नगर चेसले हिमालयन चेस एकेडेमीलाई हरायो। कास्की जिल्ला बुद्धिचाल संघले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई पाखा लगायो। त्यसैगरी महालक्ष्मी नगरपालिकाले पूर्वेली ब्रदर्समाथि जित दर्ता गर्दै प्रतियोगिताको उत्कृष्ट सुरुआत गर्यो।
प्रतियोगिता ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन कलेजमा सञ्चालन भइरहेकाछन्। विजयी टोलीले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १ लाख, तेस्रो हुने टोलीले ६० हजार र चौथो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ।
त्यस्तै पाँचौँदेखि सातौँ स्थान हासिल गर्ने टिमहरूले समान २०–२० हजार रुपैयाँ पाउनेछन्। व्यक्तिगत अंकका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार हात पार्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभासद् रघुनाथ महर्जनले गर्नुभएको हो।

टिप्पणी लेख्नुहोस्