इंटर मियामीले पहिलो एमएलएस कप जित्यो, मेसीले चम्काए खेलको रंग
अमेरिका — इंटर मियामीले शनिबार राति खेलेको मेजर लीग सकर (एमएलएस) फाइनलमा वन्कूवर वाइटक्प्सलाई ३–१ ले हराउँदै आफ्नो पहिलो एमएलएस उपाधि जितेको छ।
खेलको सुरुवात इंटर मियामीका लागि शानदार रह्यो। खेलको आठौं मिनेटमै वन्कूवरको गल्तीबाट ओन-गोल भयो र मियामी १-0 ले अगाडि बढ्यो। दोस्रो हाफमा वन्कूवरले खेफमा फर्कने प्रयास गर्दै ६०औं मिनेटमा बराबरीको गोल गर्न सफल भयो।
तर त्यसपछि खेल पूर्ण रूपमा इंटर मियामी र लियोनेल मेसीको नियन्त्रणमा रह्यो। मेसीले उत्कृष्ट प्रदर्शन गर्दै दुई असिस्ट दिए—पहिलो ७२औं मिनेटमा रोड्रिगो डी पलको गोलमा र दोस्रो स्टपेज टाइम (९०+६) मा अलेनडेको गोलमा। यी दुई अवसरले खेलको दिशा पूर्ण रूपमा बदलिदियो। फाइनलमा मेसीलाई मोस्ट भ्यालुएबल प्लेयरको रूपमा सम्मान गरिएको छ।
मेसीका लागि यो करियरको ४८औं ट्रफी हो। उनले अर्जेन्टिनासँग ६, बार्सिलोना साथ ३५, पिएसजिसँग ३ र अब इंटर मियामीसँग ४ उपाधि जितिसकेका छन्।
इंटर मियामीका सह-मालिक डेविड बेकहमले मैदानमै खुसी मनाउँदै मेसीको प्रशंसा गरे। उनले भने, “जब मेसीसँग बल जान्छ, उनी सँधै अवसर बनाइदिन्छन्। टिम पुरै सिजन एकजुट रह्यो र यही कारणले हामी च्याम्पियन बनेका हौं।”
बेकहमले क्लबको सफलताप्रति आफ्नो विश्वास व्यक्त गर्दै भने, “धेरै रातहरू चिन्तामा बिते, तर मियामी र यस क्लबको सफलतामा सधैं भरोसा थियो। हामी फ्यानलाई सधैं उत्कृष्ट खेलाडी र नतिजा दिने वाचा गर्दै आएका थियौं। आजको रात टिम र फ्यानले खुशी मनाउनेछ।”
एमएलएस इतिहासमा सबैभन्दा सफल टिम एलए ग्यालेक्सी हो, जसले सन् २०२४ सम्म छौं एमएलएस कप जितेको छ। त्यसपछि डिसी यूनाइटेड चार उपाधि सहित दोस्रो स्थानमा छ भने कोलम्बस क्रूले तीन पटक उपाधि जितेको छ।

टिप्पणी लेख्नुहोस्