लेख विवरण

पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता शुरू

पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता शुरू

काठमाडौं, मंसिर २६ गते ।
दृष्टिविहिन चेस खेलाडीहरुको लागि “पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता २०८२“ पभिलियन चेस एकेडेमी र नेपाल त्रिवासा संस्थाको संयुक्त रूपमा नेशनल सहकारी महासंघ हरिहर भवनमा शुरू भएको छ । सो प्रतियोगिताको उद्घाटन नेपालका लागि जर्मनका राजदुत युडो भल्स र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जनले संयुक्त रूपमा गर्नुभएको थियो । प्रतियोगितामा ६ वटा विद्यालय ल्यावोटरी स्कूल (किर्तिपुर), नमुना मछिन्द्र उच्च मा. वि. ( लगनखेल), संजीवनी उच्च मा. वि.( धुलिखेल ), पृथ्वी नारायण उच्च मा. वि. ( तारकेश्वर ) , आदर्श सेकेण्डरी स्कुल ( सानो ठिमी ) र अपाङ्ग सेवा संघ ( बुङ्ममति ) का ४९ जना दृष्टिविहिन खेलाडीहरुको सहभागिता रहेको छ भने प्रतियोगिता स्विस लिग अन्तर्गत ६ राउण्ड सम्म चल्ने छ ।

विशेषज्ञहरूका अनुसार बुद्धिचाल (चेस) दृष्टिविहिन बालबालिकाका लागि स्मरण शक्ति, धैर्य, मानसिक स्थिरता र केन्द्रित सोच विकास गराउन अत्यन्त प्रभावकारी खेल हो । पभिलियन्स चेस एकेडेमीले विगतका वर्षहरूमा सयौँ बालबालिकालाई प्रशिक्षण दिँदै आएको छ र यसमार्फत विभिन्न उमेर समूहका राष्ट्रिय च्याम्पियन खेलाडी उत्पादन गरिसकेको छ ।

त्यस्तै, नेपाल त्रिविसा शिक्षा, सामाजिक सशक्तिकरण, सीप विकास तथा समावेशी विकासका कार्यक्रममार्फत सीमान्तकृत समुदायहरूको हितमा काम गर्दै आएको गैरनाफामूलक संस्था भएको बताइएको छ ।

उद्घाटनको दिन २ राउण्डको खेल समाप्त भएको छ भने वाँकी ४ खेल भोलि खेलाइने छ । सो प्रतियोगिताको समापन ललितपुर उपमहानगरपालिकाका नगर प्रमुख श्री चिरी वावु महर्जनद्वारा बेलुका ४ बजे हुने आयोजकद्वारा जानकारी दिनुभयो । आयोजकका अनुसार नेपालमा पहिलो पटक दृष्टिविहिन चेस भएको हो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.