आईपीएल २०२६ मिनी अक्सनः क्यामरन ग्रीन बने सबैभन्दा महँगा विदेशी खेलाडी, प्रशान्त र कार्तिक सबैभन्दा महँगा भारतीय
काठमाडौं । आईपीएल २०२६ को मिनी अक्सन मंगलवार अबू धाबीमा सम्पन्न भएको छ। जसमा १ सय ५६ खेलाडी माथि बोली लागेको थियो। १० टोलीले २१५.४५ करोड भारतीय रुपैयाँ खर्च गर्दै ७७ खेलाडी खरिद गरे, जसमा २९ विदेशी र ४८ भारतीय खेलाडी रहेका छन्।
अष्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीन आईपीएल इतिहासका सबैभन्दा महँगा विदेशी खेलाडी बने। उनलाई कोलकाता नाइट राइडर्सले २५.२० करोड भारतीय रुपैयाँमा खरिद गरेको छ। ग्रीनले आफ्नै देशका मिचेल स्टार्कको रेकर्ड तोडेका छन्, जसलाई सन् २०२४ मा केकेआरले २४.७५ करोडमा खरिद गरेको थियो। आईपीएल इतिहासका सबैभन्दा महँगा खेलाडीमध्ये ऋषभ पन्त २७ करोड रुपैयाँमा पहिलो र श्रेयस अय्यर २६.७५ करोडमा दोस्रो स्थानमा रहेका छन्।
केकेआरले ग्रीनलाई २५.२० करोडमा खरिद गरे तापनि उनलाई १८ करोड मात्र प्राप्त हुनेछन्, बाँकी ७.२० करोड बिसीसीआई वेलफेयर फन्डमा जम्मा हुनेछ। बिसीसीआईले विदेशी खेलाडीहरूको लागि मिनी अक्सनमा १८ करोडको अधिकतम सीमा तय गरेको थियो, ताकि अत्यधिक बोलीका कारण अनुचित लाभ नउठोस्।
यस मिनी अक्सनमा प्रशान्त वीर र कार्तिक शर्मा सबैभन्दा महँगा अनकैप्ड भारतीय खेलाडी बने। २० वर्षका प्रशान्त र १९ वर्षका कार्तिकलाई १४.२०–१४.२० करोड भारतीय रुपैयाँमा खरिद गरिएको छ। दुवैलाई चेन्नई सुपर किंग्सले ३० लाखको बेस प्राइसबाट करिब ४७ गुणा बढी मूल्यमा खरिद गरेको हो। सिएसकेले यी दुई खेलाडीमा कुल २८.४० करोड खर्च गरेको छ।
प्रशान्त उत्तर प्रदेशका हुन् भने कार्तिक राजस्थानका हुन्। यसैगरी जम्मू–कश्मीरका औकिब नबी डारलाई दिल्ली क्यापिटल्सले ८.४० करोडमा खरिद गरेको छ।
केकेआरले तेज बलर सेटमा सबैभन्दा धेरै लगानी गरेको छ। जसले श्रीलंका का मथीशा पथिराना (१८ करोड) र बांग्लादेशका मुस्ताफिजुर रहमानलाई (९.२० करोड)मा खरिद गरेको छ। स्पिनरमा रवि बिश्नोईलाई राजस्थान रायल्सले ७.२० करोडमा खरिद गरेको छ भने वेंकटेश अय्यरलाई आरसिबीले ७ करोडमा आफ्नो टोलीमा समावेश गरेको छ।
सन् २०२३ का प्लेयर अफ द फाइनल डेवोन कन्वे, श्रीलंका का मिस्ट्री स्पिनर महीश तीक्ष्णा र अफगानिस्तान का मुजीब उर रहमान अनसोल्ड रहे। उनीहरूको नाम दुई पटक अक्सन पूलमा आएको भए पनि कुनै फ्रेन्चाइजले खरिद गरेन। त्यसैगरी, अष्ट्रेलियाका ज्याक फ्रेजर–मैगर्क, वेस्टइंडीजका अल्जारी जोसेफ र दक्षिण अफ्रिकाका जेराल्ड कूट्जी पनि अनसोल्ड रहे।

टिप्पणी लेख्नुहोस्