इभाना र वियंका फाइनलमा
काठमाडौं, पुस २ गते । शिवसताक्षी ८ की इभाना थापा र संखुवासभा ४ की वियंका राई पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला खुला सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा इभानाले काठमाडौं महानगरपालिका २६ की अनिता महर्जनलाई ११–९, ११–७ र ११–४ तथा वियंकाले धरान ९ दीक्षा दाहाललाई ११–७, ११–६, ९–११ र ११–८ को सेटमा पराजित गरे ।
स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा कीर्तिपुर ६ का जयस्नु महर्जनले स्वर्ण जिते । उनले फाइनलमा मन्थली ४ का प्रजिल भट्टराईलाई १०–१२, ११–८, ११–९, ८–११ र ११–४ को सेटमा हराए । ललितपुर महानगरपालिका १६ का रिजन शाक्य र ललितपुर ९ का निर्भाना वज्राचार्य तेश्रो भए । यसअघि सो स्पर्धाको गर्ल्समा ललितपुर ८ की सुरम्य शाक्यले स्वर्ण जितेकी थिइन् ।
महिला टिम इभेन्टमा शिवसताक्षी ८ पहिलो भयो । इभाना थापा र सिक्का सुवालको टोलीले फाइनलमा भक्तपुर ५ का नर्मदा खाइतु र दिया देउलाको टोलीलाई ३–१ ले पाखा लगायो ।

टिप्पणी लेख्नुहोस्