काठमाडौँ, पुस २ गते । एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले निराशाजनक प्रदर्शन गर्दै प्रतियोगिता जितविहिन रूपमा टुंग्याएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भयो।
दुबईको द सेभेन्स मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १२५ रनको लक्ष्य अफगानिस्तानका लागि खासै चुनौतीपूर्ण बन्न सकेन। अफगान टोलीले २६.५ ओभरमै चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। जितमा उजैरुल्लाह नियाजाईको अर्धशतक निर्णायक रह्यो। उनले ६१ रन बनाए भने ओस्मान सदतले २८ रनको योगदान दिए।
नेपालका बलरमध्ये अभिषेक तिवारीले दुई विकेट लिए भने विपिन शर्मा र चन्दन रामले एक–एक विकेट झारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६.४ ओभरमा १२४ रनमै सबै विकेट गुमायो। दिलसाद अलीले ३२ रनसहित टोलीका लागि सबैभन्दा धेरै रन बनाए। चन्दन राम (२७) र अभिषेक तिवारी (२०) बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
अफगानिस्तानका बलरहरू प्रभावशाली देखिए। जाइतुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज, नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले दुई–दुई विकेट हात पारे।
यसअघि नेपाल श्रीलंका र बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको थियो। यू–१९ टोलीका लागि यो प्रतियोगिता अनुभव बटुल्ने अवसर बने पनि नतिजा भने नेपालका पक्षमा आएन।
टिप्पणी लेख्नुहोस्