इन्डो नेपाल टी–२० च्याम्पियनसिपको तयारी पूरा, ६ टोलीले प्रतिस्पर्धा गर्ने
काठमाडौं । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा हुने इन्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेटको तयारी पूरा भएको छ । प्रतियोगिता यही पौष ४ देखि १३ गतेसम्म गौतम बुद्ध क्रिकेट मैदानमा आयोजना हुने संघले जनाएको छ ।
प्रतियोगितामा नेपालबाट नेपालको तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चितवन क्रिकेट क्लबको सहभागिता रहनेछ । यस्तै भारतबाट दुई टिम आउनेछन् । भारतको कोलकाताबाट कोलकाता ईन्स्टिच्युट क्लब र दिल्लीको दिल्ली वन्डरर्स क्लब टिम हुनेछ । भारतीय टिममा रणजी र आईपीएलको अनुभव भएका खेलाडीहरु समावेश हुने आयोजकले जानकारी दिएको छ ।
यस इन्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट मार्फत नेपाल र भारत दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास छ ।
प्रतियोगिताको दर्शकहरुको लागि बाउण्ड्री बाहिर वान ह्याण्ड क्याच गर्दा नगदसहित आकर्षक पुरस्कारको व्यवस्था समेत रहेको छ । यसले दर्शकलाई खेल हेर्न अझै उत्साही बनाउने विश्वास आयोजकको छ ।
प्रतियोगिताको विजेताले प्राप्त गर्ने पुरस्कार चाँडै घोषणा गर्ने चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष उमेश पियाले जानकारी दिए । प्रतियोगिताका खेलहरु हिमालयन प्रिमियम एचडी र मकालु टिभीबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

टिप्पणी लेख्नुहोस्