काठमाडौं। अस्ट्रेलिया र इंग्ल्यान्डबीच जारी तेस्रो एशेज टेस्टको दोस्रो दिनको खेल सकिँदा इंग्ल्यान्डले पहिलो पारीमा ८ विकेटको क्षतिमा २१३ रन बनाएको छ। इंग्ल्यान्ड हाल अस्ट्रेलियाभन्दा १५८ रनले पछाडि रहेको छ। स्टम्प्ससम्म कप्तान बेन स्टोक्स (४५)* र जोफ्रा आर्चर (३०)* क्रीजमा छन्।
यसअघि अस्ट्रेलियाले पहिलो पारीमा ३७१ रन बनाएको थियो। कप्तान प्याट कमिन्सको नेतृत्वमा अस्ट्रेलियाली बलरहरूले कडा प्रदर्शन गर्दै इंग्ल्यान्डलाई लगातार झट्का दिए। तर स्टोक्सले एक छेउ सम्हाल्दै आर्चरसँग मिलेर नवौँ विकेटका लागि ४५ रनको साझेदारी गरेका छन्।
अस्ट्रेलियाका लागि कमिन्सले ३ विकेट लिए भने स्कट बोलान्ड र नेथन लायनले २–२ विकेट हात पारे। क्यामरुन ग्रीनले १ विकेट लिए।
इंग्ल्यान्डको पारीको सुरुआत ज्याक क्राउली र बेन डकेटले ३७ रनको साझेदारीसहित राम्रो गरे पनि कमिन्सले क्राउलीलाई ९ रनमा आउट गर्दै पहिलो सफलता दिलाए। त्यसपछि लायनले ओली पोप (३) लाई आउट गरे र डकेटलाई २९ रनमा बोल्ड गर्दै तेस्रो झट्का दिए। जो रुट (१९) पनि कमिन्सको बलिङमा आउट भए।
प्रारम्भिक झट्कापछि स्टोक्स र ह्यारी ब्रुकले पारी सम्हाले। दुवैबीच पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी भयो। तर ग्रीनले ब्रुकलाई ६३ बलमा ४५ रनमा आउट गरे। त्यसपछि स्टोक्स र जेमी स्मिथबीच ३२ रनको साझेदारी भए पनि कमिन्सले स्मिथलाई २२ रनमा पवेलियन फर्काए। बोलान्डले विल जैक्स (६) र ब्राइडन कार्स (०) लाई आउट गर्दै इंग्ल्यान्डलाई थप झट्का दिए।
यसअघि अस्ट्रेलियाको पारीमा विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीको करियरको तेस्रो शतक र उस्मान ख्वाजाको ८२ रनको उत्कृष्ट योगदान रह्यो। दोस्रो दिन अस्ट्रेलियाले ८ विकेटमा ३२६ रनबाट खेल सुरु गरेको थियो। मिचेल स्टार्कले ७५ बलमा ९ चौकासहित ५४ रन बनाउँदै टोलीको स्कोर ३५० पार गराए। आर्चरले स्टार्कलाई आउट गरेपछि लायन र बोलान्डले अन्तिम विकेटका लागि २३ रन जोडे। अन्ततः आर्चरले लायनलाई ९ रनमा आउट गर्दै अस्ट्रेलियाको पहिलो पारी ३७१ रनमा समेटे, बोलान्ड १४ रनमा अविजित रहे।
तेस्रो दिन इंग्ल्यान्डले पछिल्ला दुई विकेट जोगाउँदै स्कोर नजिक्याउने प्रयास गर्नेछ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्