लेख विवरण

टी–२० विश्वकप खेल्न गएका खेलाडी ११ दिन जेल बस्न बाध्य

टी–२० विश्वकप खेल्न गएका खेलाडी ११ दिन जेल बस्न बाध्य

काठमाडौं। क्रिकेट मैदानमा खेलाडीहरू विवादमा पर्ने घटना नयाँ होइन। तर कहिलेकाहीँ मैदान बाहिरका घटनाले खेलाडीको करियर नै जोखिममा पार्ने गरेका छन्। यस्तै एक गम्भीर प्रकरण श्रीलंकाली क्रिकेटर दानुष्का गुणाथिलकासँग जोडिएको छ, जहाँ उनी आईसीसी टी–२० विश्वकप २०२२ का क्रममा ११ दिन जेल बस्न बाध्य भएका थिए।

अस्ट्रेलियामा सम्पन्न उक्त विश्वकपमा श्रीलंकाको प्रदर्शन सन्तोषजनक हुन सकेन र टोली प्रतियोगिताबाट बाहिरिसकेको थियो। खेलाडीहरू स्वदेश फर्कने तयारीमा रहेका बेला सिड्नीस्थित टोलीको होटलमा प्रहरी पुगेर गुणाथिलकालाई पक्राउ गर्‍यो। उनको पासपोर्ट जफत गरियो र प्रारम्भमा जमानतसमेत अस्वीकार गरिएको थियो।

प्रहरी अनुसन्धानअनुसार गुणाथिलकाको एक डेटिङ एपमार्फत २९ वर्षीया महिलासँग चिनजान भएको थियो। नोभेम्बर २, २०२२ मा उनीहरू सिड्नीको ओपेरा बारमा भेटेर ड्रिङ्क्स लिएका थिए र त्यसपछि महिलाको घर गएका थिए। प्रारम्भिक रूपमा आपसी सहमतिमा सम्बन्ध भएको भनिए पनि पछि केही गलतफहमी भएपछि ती महिलाले गुणाथिलकामाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन्।

महिलाले विशेषगरी ‘स्टेल्थिङ’ को आरोप लगाएकी थिइन्, जसलाई अस्ट्रेलियामा बिना सहमति यौन सम्बन्धको गम्भीर अपराध मानिन्छ। यस प्रकरणपछि गुणाथिलका ठूला कानुनी समस्यामा परे।

११ दिन जेल बसेपछि नोभेम्बर १७, २०२२ मा उनलाई कडा सर्तसहित जमानत दिइयो। जमानतका सर्तअनुसार उनले पासपोर्ट बुझाउनुपर्ने, सामाजिक सञ्जाल र डेटिङ एप प्रयोग गर्न नपाउने तथा अस्ट्रेलिया छाड्न नपाउने व्यवस्था गरिएको थियो।

सुरुमा गुणाथिलकामाथि बिना सहमति सम्बन्धसमेतका चार वटा यौन उत्पीडनका आरोप लगाइएको थियो। तर मे २०२३ मा सरकारी अभियोजकहरूले चारमध्ये तीन आरोप फिर्ता लिए। बाँकी रहेको एक स्टेल्थिङसम्बन्धी मुद्दामा मात्र मुद्दा चलाइएको थियो।

लामो कानुनी प्रक्रियापछि र अभियोजन पक्षसँग पर्याप्त प्रमाण नभएको ठहर गर्दै सेप्टेम्बर २०२३ मा अदालतले गुणाथिलकालाई निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरिदियो। यससँगै उनी स्वदेश फर्कन सफल भए।

आरोपबाट सफाइ पाएपछि श्रीलंका क्रिकेट बोर्डले लगाएको प्रतिबन्ध पनि हटाइयो, र त्यसपछि गुणाथिलकाले पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने अवसर पाए। यो घटनाले खेलाडीहरूको व्यक्तिगत जीवन र व्यावसायिक करियरबीचको सन्तुलन कति संवेदनशील हुन्छ भन्ने कुरा उजागर गरेको छ।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.