फरहान युसुफको कप्तानीमा पाकिस्तान यू–१९ टोली, जिम्बाब्वे त्रिदेशीय सिरिज र यू–१९ विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा
काठमाडौं। पाकिस्तान क्रिकेट बोर्डले जिम्बाब्वेमा आयोजना हुने त्रिदेशीय सिरिज र आईसीसी पुरुष यू–१९ क्रिकेट विश्वकपका लागि १५ सदस्यीय पाकिस्तान यू–१९ टोली घोषणा गरेको छ। टोलीको नेतृत्व १९ वर्षीय मिडलअर्डर ब्याटर फरहान युसुफले गर्नेछन्।
यू–१९ विश्वकप जनवरी १५ देखि फेब्रुअरी ६ सम्म जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ। त्यसअघि पाकिस्तान, अफगानिस्तान र घरेलु टोली जिम्बाब्वे सहभागी हुने त्रिदेशीय सिरिज डिसेम्बर २५ देखि जनवरी ६ सम्म सञ्चालन हुनेछ, जसलाई विश्वकपको मुख्य तयारीका रूपमा लिइएको छ।
हाल पाकिस्तान यू–१९ टोली दुबईमा जारी एसीसी यू–१९ एसिया कपमा प्रतिस्पर्धा गरिरहेको छ। समूह ‘ए’ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको पाकिस्तानले डिसेम्बर १९ मा बंगलादेशसँग सेमिफाइनल खेल्नेछ। आठ टोली सहभागी प्रतियोगिताको फाइनल डिसेम्बर २१ मा हुनेछ।
एसिया कपका लागि घोषणा गरिएको टोलीको तुलनामा नयाँ टोलीमा एक मात्र परिवर्तन गरिएको छ। दायाँहाते तीव्र गतिका बलर उमर जाइब टोलीमा समेटिँदा बाँया हाते स्पिनर मोहम्मद हुजैफा बाहिरिएका छन्। यो परिवर्तन त्रिदेशीय सिरिज र यू–१९ विश्वकप दुवैका लागि लागू हुनेछ।
यसअघि २०२४ संस्करणको यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका दायाँहाते तीव्र बलर अली रजालाई पनि पुनः टोलीमा राखिएको छ। त्यतिबेला मात्र १५ वर्षका रहेका रजाले सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध ४ विकेट ३४ रन दिएर पाकिस्तानलाई ऐतिहासिक जित नजिक पुर्याएका थिए। उनले उक्त प्रतियोगितामा केवल तीन खेलमै ९ विकेट लिएका थिए।
त्रिदेशीय सिरिज र विश्वकपमार्फत पाकिस्तान यू–१९ टोलीले बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
पाकिस्तान यू–१९ टोली:
फरहान युसुफ (कप्तान), उस्मान खान (उपकप्तान), अब्दुल सुभान, अहमद हुसेन, अली हसन बलोच, अली रजा, दानियाल अली खान, हम्जा जाहूर (विकेटकिपर), हुजैफा अहसान, मोमिन कमर, मोहम्मद सैय्याम, मोहम्मद शायान (विकेटकिपर), निकाब शफिक, समीर मिन्हास, उमर जाइब
नन–ट्राभलिङ रिजर्भ:
अब्दुल कादिर, फरहानुल्लाह, हसन खान, इब्तिसाम अजहर, मोहम्मद हुजैफा

टिप्पणी लेख्नुहोस्