रिचर्ड नगराभा जिम्बाब्वेको नयाँ टेस्ट र एकदिवसीय कप्तान नियुक्त
काठमाडौं । बायाँहाते तीव्र बलर रिचर्ड नगराभालाई जिम्बाब्वे क्रिकेट टोलीको नयाँ टेस्ट तथा एकदिवसीय कप्तान नियुक्त गरिएको छ। जिम्बाब्वे क्रिकेटले जारी गरेको विज्ञप्तिअनुसार यसअघिका कप्तान क्रेग एर्विनले पदबाट राजीनामा दिएपछि २७ वर्षीय नगराभाले जिम्मेवारी सम्हालेका हुन्।
नगराभाको उपकप्तानको भूमिकामा अलराउन्डर ब्रायन बेनेटलाई नियुक्त गरिएको छ। यद्यपि, अनुभवी खेलाडी सिकन्दर रजाले भने टी–२० अन्तर्राष्ट्रियमा जिम्बाब्वेको कप्तानी निरन्तर गर्नेछन्।
यी नयाँ नियुक्ति जिम्बाब्वे क्रिकेट बोर्डको हरारेमा सम्पन्न चौथो त्रैमासिक बैठकपछि गरिएको हो। अध्यक्ष तावेङ्वा मुकुहलानीले नगराभाको प्रशंसा गर्दै भने, “नगराभाले पछिल्ला वर्षहरूमा खेलाडी र नेताको रूपमा उल्लेखनीय प्रगति देखाएका छन्। ड्रेसिङ रुममा उनको सम्मान छ र उनले सबै फर्म्याटमा जिम्बाब्वेका लागि निरन्तर योगदान दिएका छन्। अब टोलीलाई नयाँ चरणमा लैजान उनी तयार छन् भन्ने हाम्रो विश्वास छ।”
उनले पूर्वकप्तान एर्विनको योगदानको पनि कदर गर्दै भने, “कठिन समयका बीच क्रेग एर्विनले व्यावसायिकता, धैर्यता र गरिमाका साथ टोलीको नेतृत्व गरे। टोलीको स्थायित्व र प्रगतिमा उनको भूमिका अमूल्य छ।”
नगराभाले सन् २०१७ मा अन्तर्राष्ट्रिय डेब्यु गरेयता जिम्बाब्वेका लागि ११ टेस्ट र १४५ सीमित ओभरका अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनी टी–२० अन्तर्राष्ट्रियमा जिम्बाब्वेका सर्वाधिक विकेट लिने बलरसमेत हुन्, जसमा उनले ९० खेलमा १०८ विकेट लिएका छन्। उनको इकनोमी दर ७.३० रहेको छ। साथै, उनले यूएईको ILT20, लंका प्रिमियर लिग र बंगलादेश प्रिमियर लिगजस्ता फ्रेन्चाइज लिगमा समेत अनुभव बटुलेका छन्।
२२ वर्षीय उपकप्तान ब्रायन बेनेटले जिम्बाब्वेका लागि तीनै फर्म्याटमा शतक बनाइसकेका छन् र आक्रामक ब्याटिङका लागि परिचित छन्। उनको नियुक्तिबारे अध्यक्ष मुकुहलानीले भने, “ब्रायनको उपकप्तान नियुक्ति उनको क्रिकेट समझ, परिपक्वता र दीर्घकालीन नेतृत्व क्षमताप्रतिको हाम्रो विश्वासको प्रतिबिम्ब हो। उनी जिम्बाब्वे क्रिकेटको भविष्य प्रतिनिधित्व गर्छन्।”

टिप्पणी लेख्नुहोस्