भोजपुर च्याम्पियन बन्यो : पुसे मेलाको अन्तर्राष्ट्रिय भलिबल उपाधि हात पार्यो
ताप्लेजुङ, पुस ५ ।
ताप्लेजुङको दोभानमा आयोजित ऐतिहासिक पुसे मेलाअन्तर्गतको अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले आफ्नो पोल्टामा पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा भोजपुरले सभापोखरी भलिबल क्लब, सङ्खुवासभालाई ३–० को स्पष्ट सेट अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।
उपाधिसँगै भोजपुर टोलीले नगद तीन लाख रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता सभापोखरी भलिबल क्लबले एक लाख ७५ हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाएको छ।
पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विभिन्न जिल्लाका सात टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिता गत पुस २ गतेदेखि जिल्ला सदरमुकाम फुङ्लिङपछि दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने दोभान बजारमा सञ्चालन भएको थियो।

टिप्पणी लेख्नुहोस्