लेख विवरण

शीर्षक: सूर्यकुमार यादवको कप्तानीमा भारतको टी२० विश्वकप टोली घोषणा, शुभमन गिल बाहिर

शीर्षक: सूर्यकुमार यादवको कप्तानीमा भारतको टी२० विश्वकप टोली घोषणा, शुभमन गिल बाहिर

काठमाडौं । फेब्रुअरी ७ तारिखदेखि सुरु हुने आईसीसी टी२० विश्वकप २०२६ का लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BCCI) ले टिम इन्डियाको घोषणा गरेको छ। चयनकर्ताले सूर्यकुमार यादवलाई टोलीको कप्तानको जिम्मेवारी सुम्पेका छन् भने उपकप्तानको भूमिकामा अक्षर पटेल रहनेछन्।

घोषित टोलीमा सबैभन्दा चासोको विषय शुभमन गिलको अनुपस्थिति बनेको छ। यसअघि उपकप्तान रहेका गिललाई यसपटक न उपकप्तानको जिम्मेवारी दिइएको छ, न त टोलीमै स्थान मिलेको छ। उनको स्थानमा अक्षर पटेललाई उपकप्तान बनाइएको हो।

टी२० विश्वकप २०२६ का लागि घोषित टोलीमा ईशान किशन र रिंकू सिंहको पुनरागमन भएको छ। पछिल्लो समय निरन्तर राम्रो प्रदर्शन गरेका ईशान किशनले त्यसको प्रतिफलस्वरूप विश्वकप टोलीमा स्थान बनाएका छन्। रिंकू सिंह पनि पुनः राष्ट्रिय टोलीमा फर्किन सफल भएका छन्। तर, ईशान किशनको टोली प्रवेशसँगै जितेश शर्माले भने विश्वकप टोलीमा स्थान बनाउन सकेनन्।

भारतले यस पटक उपाधि रक्षा गर्ने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउनेछ। सन् २०२४ को टी२० विश्वकप जित्दै भारतले दोस्रो पटक उपाधि हात पारेको थियो।

टी२० विश्वकप २०२६ का लागि भारतको टोली:
सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सञ्जु स्यामसन, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल (उपकप्तान), रिंकू सिंह, जसप्रीत बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, हर्षित राणा, वासिङ्टन सुन्दर र ईशान किशन।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.