लेख विवरण

सिड्नी स्म्यासमा सिक्सर्सको दमदार जित, थन्डर अझै जितविहीन

सिड्नी स्म्यासमा सिक्सर्सको दमदार जित, थन्डर अझै जितविहीन

काठमाडौं । सिड्नी सिक्सर्सले सन्तुलित प्रदर्शन गर्दै ‘सिड्नी स्म्यास’ मा सिड्नी थन्डरमाथि ४७ रनको प्रभावशाली जित दर्ता गरेको छ। सुरुआती दुई खेलमा पराजय व्यहोरेको सिक्सर्सले यस जितसँगै BBL २०२५–२६ मा पहिलो जीत हासिल गर्दा थन्डर भने नयाँ सिजनमा अझै जितको खाता खोल्न नसक्ने एकमात्र टोली बनेको छ।

पहिले ब्याटिङ गरेको सिक्सर्सका लागि ड्यानियल ह्युजेसले पावरप्लेमै आक्रामक सुरुआत गरे। तर बाबर आजमले सुरुआतमा संयमित ब्याटिङ गर्दै पावरप्लेमा ११ बलमा मात्र ७ रन जोडे। ह्युजेस रिस टप्लीको स्लोअर बलमा आउट भएपछि बाबरले जोश फिलिपसँग मिलेर इनिङ्स सम्हाले।

फिलिपले शादाब खानविरुद्ध दुई छक्का र एक चौका प्रहार गर्दै रन गतिमा तीव्रता ल्याए र १० ओभरपछि सिक्सर्स ९२/१ को अवस्थामा पुग्यो। त्यसपछि दुवै ब्याटरले लगातार रन बटुल्दै विशाल १४० रनको साझेदारी गरे। विकेटकिपर ब्याटर फिलिपले आक्रामक शैली अपनाउँदै पहिला अर्धशतक पूरा गरे भने बाबर पनि लयमा देखिए।

अन्ततः टप्लीले बाबरलाई आउट गरेपछि अन्तिम तीन ओभरमा सिक्सर्सले २६ रन मात्र जोड्न सक्यो। तर निर्धारित २० ओभरमा सिक्सर्सले ५ विकेट गुमाउँदै १९८ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो। फिलिपले ९६ रनको उत्कृष्ट इनिङ्स खेले भने बाबरले ५८ रन जोडे। थन्डरका लागि टप्लीले ३ विकेट लिए।

१९९ रनको लक्ष्य पछ्याउने क्रममा थन्डरको सुरुआत निराशाजनक रह्यो। टोड मर्फीले बलिङको सुरुआत गर्दै लगातार तीन चौका खाए पनि अन्ततः विकेट निकाल्न सफल भए। त्यसपछि ज्याक एडवर्ड्सले आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै अनुभवी डेभिड वार्नरलाई समेत पवेलियन फर्काए। १७/३ को कमजोर अवस्थामा पुगेको थन्डरले नियमित अन्तरालमा विकेट गुमाइरह्यो।

साम बिलिङ्स र शादाब खानले केही प्रतिरोध देखाए पनि आवश्यक रन दर सधैं थन्डरको पहुँचबाहिर रह्यो। एडवर्ड्सले निरन्तर विकेट लिँदै पाँच विकेटको शानदार प्रदर्शन गरे। बिलिङ्सले अर्धशतक पूरा गरे भने शादाबले ४१ रन बनाएर हारको अन्तर केही घटाए।

अन्ततः थन्डर १९.१ ओभरमा १५१ रनमै समेटियो र सिक्सर्सले ४७ रनको सहज जित हात पार्‍यो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.