लेख विवरण

अफगानिस्तान प्रिमियर लिग पुनः सञ्चालन हुने, सन् २०२६ अक्टोबरमा पहिलो संस्करणको तयारी

अफगानिस्तान प्रिमियर लिग पुनः सञ्चालन हुने, सन् २०२६ अक्टोबरमा पहिलो संस्करणको तयारी

काठमाडौं। अफगानिस्तान क्रिकेट बोर्ड (ACB) ले नयाँ फ्रेन्चाइज–आधारित टी–२० प्रतियोगिता अफगानिस्तान प्रिमियर लिग (APL) को घोषणा गरेको छ। पाँच टोली सहभागी हुने प्रतियोगिता सन् २०२६ को अक्टोबरतिर संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गर्ने योजना बनाइएको ACB ले जनाएको छ।

ACB ले यसअघि पनि सन् २०१८ मा अफगानिस्तान प्रिमियर लिग सुरु गरेको थियो। त्यस संस्करणमा पाँच टोली सहभागी थिए भने क्रिस गेल, ब्रेन्डन म्याकुलम, शाहिद अफ्रिदीजस्ता विश्व चर्चित खेलाडीहरूले सहभागिता जनाएका थिए। तर भुक्तानीसम्बन्धी समस्या र लिगको विश्वसनीयतामाथि प्रश्न उठेपछि उक्त प्रतियोगिता एकै सिजनमै बन्द भएको थियो।

नयाँ स्वरूपमा पुनः सुरु हुन लागेको APL को खेलाडी ड्राफ्ट सन् २०२६ को जुन–जुलाई महिनामा आयोजना हुने सम्भावना रहेको छ।

ACB ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उद्घाटन सिजनमा पाँच सहर–आधारित फ्रेन्चाइज रहनेछन्। प्रतियोगितामा अफगानिस्तानका शीर्ष राष्ट्रिय खेलाडीहरूसँगै चर्चित विदेशी खेलाडी तथा उदाउँदै गरेका स्थानीय प्रतिभाहरूलाई एकै मञ्चमा देख्न पाइनेछ।”

दुबईमा शनिबार आयोजित लन्च कार्यक्रममा ACB का अध्यक्ष मिरवाइस अशरफले भने, “अफगानिस्तान प्रिमियर लिग हाम्रो क्रिकेट यात्राको एक महत्वपूर्ण कदम हो। यसले खेलाडीहरूलाई नयाँ अवसर प्रदान गर्छ, नयाँ पुस्तालाई प्रेरणा दिन्छ र अफगानिस्तान क्रिकेटलाई विश्व मञ्चमा चिनाउने माध्यम बन्छ। हामी APL लाई घरेलु तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटको विकास र एकताको महत्वपूर्ण आधारका रूपमा हेर्छौं।”

ACB ले यो लिग सञ्चालनका लागि क्रिकेट भेन्चर सँग साझेदारी गरेको छ, जुन ट्रान्स ग्रुप र ITW युनिभर्सको संयुक्त उपक्रम हो।

विज्ञप्तिअनुसार आगामी चरणमा फ्रेन्चाइजहरूको पहिचान अन्तिम रूप दिने, व्यावसायिक साझेदारहरू सुनिश्चित गर्ने तथा खेलाडी अक्सन वा ड्राफ्ट प्रक्रियालाई अघि बढाइनेछ।

यसैबीच, अफगानिस्तानले आफ्नो नियमित घरेलु टी–२० प्रतियोगिता श्पगीजा क्रिकेट लिग भने हरेक वर्ष जुलाई–अगस्ट अवधिमा पाँच घरेलु टोलीसहित निरन्तर आयोजना गर्दै आएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.