लेख विवरण

टी–२० विश्वकप टोली घोषणा गर्ने तयारीमा पीसीबी, बाबर र वरिष्ठ खेलाडीको भविष्यमा प्रश्न

टी–२० विश्वकप टोली घोषणा गर्ने तयारीमा पीसीबी, बाबर र वरिष्ठ खेलाडीको भविष्यमा प्रश्न

काठमाडौँ — पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टी–२० विश्वकपका लागि प्रारम्भिक टोली चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ। प्रारम्भिक टोली दर्ता गर्ने अन्तिम मिति जनवरी ७ रहेकाले सोही दिन पाकिस्तानले श्रीलङ्काविरुद्ध सुरु गर्ने टी–२० अन्तर्राष्ट्रिय सिरिजसँगै विश्वकप टोली पनि घोषणा हुने सम्भावना छ।

भारतजस्तो स्थिर टोली नभएकाले पाकिस्तानका लागि टोली छनोट सजिलो छैन। हालसम्म कप्तान बाबर आजमसहित शाहिन शाह अफ्रिदी जस्ता अनुभवी खेलाडीको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन। अर्कोतर्फ, युवा खेलाडीहरूले पनि निरन्तर प्रभाव जमाउन नसक्दा पीसीबीलाई ठुलो निर्णय लिनुपर्ने अवस्था आएको छ। विश्वकपजस्तो ठुलो प्रतियोगितामा युवा टोलीलाई नै भरोसा गर्ने कि अनुभवी खेलाडीलाई अन्तिम अवसर दिने भन्ने विषयमा बोर्डभित्र गहिरो छलफल भइरहेको बताइएको छ।

हालका खेलहरूमा पटक–पटक ब्याटिङ ध्वस्त भएको पृष्ठभूमिमा मोहम्मद रिजवानको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ। साथै, सम्भावित कप्तान मानिएका सलमान आघाको व्यक्तिगत प्रदर्शन कमजोर रहँदा उनको कप्तानी र टोलीमा स्थानबारे पनि आलोचना भइरहेको छ।

टी–२० विश्वकपमा पाकिस्तान समूह ‘ए’ मा परेको छ, जहाँ भारत, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर–८ चरणमा प्रवेश गर्नेछन्। पछिल्लो विश्वकपमा अमेरिकासँग अप्रत्याशित हार व्यहोरेको पाकिस्तानका लागि यसपटक कुनै पनि खेल सजिलो नहुने संकेत देखिएको छ।

पीसीबीले सम्भावित टोलीमा साहिबजादा फरहान, साइम अयुब, बाबर आजम, मोहम्मद रिजवान, फखर जमान, सलमान आघा (कप्तान), समीर मिन्हास वा माज सादाकत, फहीम अशरफ, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसीम शाह, हारिस रउफ, अबरार अहमद, सलमान मिर्जा र उस्मान तारिकलाई समेट्न सक्ने बताइएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.