लेख विवरण

टी–२० विश्वकप तयारीका लागि क्यानले २४ खेलाडी बन्द प्रशिक्षणमा बोलायो

टी–२० विश्वकप तयारीका लागि क्यानले २४ खेलाडी बन्द प्रशिक्षणमा बोलायो

काठमाडौँ, पुस ६ — भारत र श्रीलङ्कामा फेब्रुअरी ७ देखि सुरु हुने आइसिसी टी–२० विश्वकपको तयारीलाई तीव्रता दिँदै नेपाल क्रिकेट सङ्घ (क्यान) ले २४ सदस्यीय प्रारम्भिक बन्द प्रशिक्षण टोली घोषणा गरेको छ। प्रशिक्षण सोमबारदेखि सुरु हुने क्यानले जनाएको छ।

घोषित टोलीमा हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रभावशाली प्रदर्शन गरेका युवा खेलाडी शेर मल्लसहित अनुभवी विनोद भण्डारी, अविनाश बोहरा, प्रतिस जीसी, इशान पाण्डे र बसिर अहमदलाई पनि समेटिएको छ। क्यानले युवा र अनुभवी खेलाडीको सन्तुलन कायम गर्दै विश्वकप लक्षित तयारी अघि बढाएको देखिन्छ।

बन्द प्रशिक्षणमा पर्ने खेलाडीहरूमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ शेख, आदिल अन्सारी, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, करण केसी, साहब आलम र रुपेश कुमार सिंह रहेका छन्।

नेपाल यसपटकको टी–२० विश्वकपमा समूह ‘सी’ मा परेको छ। उक्त समूहमा इङ्ग्ल्यान्ड, वेस्टइन्डिज, बङ्गलादेश, इटली र नेपाल रहेका छन्। नेपालले योसहित तेस्रो पटक टी–२० विश्वकपमा सहभागिता जनाउन लागेको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ संस्करणमा विश्वकप खेलेको थियो।

२० टोली सहभागी विश्वकपलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स रहेका छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाबे, आयरल्यान्ड र ओमान छन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई परेका छन्।

विश्वकपअघि हुने यो बन्द प्रशिक्षणलाई नेपालका लागि महत्वपूर्ण तयारीको चरणका रूपमा हेरिएको छ, जहाँबाट अन्तिम टोली छनोट हुने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.