लेख विवरण

महिला टी–२० विश्वकप ग्लोबल छनोट तयारी तीव्र, मुख्य प्रशिक्षक हर्शल पाठक नेपाल आइपुगे

महिला टी–२० विश्वकप ग्लोबल छनोट तयारी तीव्र, मुख्य प्रशिक्षक हर्शल पाठक नेपाल आइपुगे

काठमाडौँ, पुस ६ — त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनवरी १२ देखि फेब्रुअरी १ सम्म आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीलाई मजबुत बनाउने उद्देश्यसहित नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्शल पाठक आइतबार नेपाल आइपुगेका छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाठकलाई गत मङ्गलबार मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पेको थियो। यद्यपि, विश्वकप छनोट लक्षित नेपाली महिला टोलीको प्रशिक्षण क्याम्प भने यसअघि नै सुरु भइसकेको छ।

ग्लोबल छनोटको तयारीलाई केन्द्रमा राख्दै क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ। प्रारम्भिक क्याम्पमा रहेका २६ खेलाडीमध्ये प्रदर्शन र फिटनेसका आधारमा २० जनालाई निरन्तर प्रशिक्षणमा राखिएको हो। यही समूहबाट अन्तिम खेलाडी सूची घोषणा गरिने क्यानले जनाएको छ।

दोस्रो चरणको प्रशिक्षण क्याम्पमा समावेश खेलाडीहरूमा इन्दु बर्मा, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना कुमारी चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, सना प्रवीण, ईश्वरी बिस्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी सावद, मनीषा उपाध्याय, सिता राना मगर र काजोल श्रेष्ठ रहेका छन्।

घरेलु मैदानमै आयोजना हुन लागेको महत्वपूर्ण ग्लोबल छनोटमा नेपालले विश्वकप यात्राको लक्ष्यसहित प्रतिस्पर्धा गर्ने तयारी गरेको छ। मुख्य प्रशिक्षक पाठकको आगमनसँगै टोलीको प्राविधिक तयारी थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.