लेख विवरण

युवा क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त

युवा क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ, पुस ६ — उदयमान नेपाली क्रिकेटर शेर मल्ल धनगढीस्थित एसपिए कलेजको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। कलेजले आइतबार एक कार्यक्रममार्फत मल्ललाई एक वर्षका लागि आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरको जिम्मेवारी दिएको हो।

ब्रान्ड एम्बेसडर नियुक्तिसम्बन्धी सम्झौतामा एसपिए कलेजका निर्देशक सुवास विक्रम शाही र क्रिकेटर शेर मल्लले हस्ताक्षर गरेका छन्। कलेजले खेलकुद क्षेत्रमा सम्भावनाशील युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित मल्ललाई ब्रान्ड एम्बेसडर बनाएको जनाएको छ।

हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा मल्लले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। प्रतियोगितामा उनले कुल १७ विकेट लिँदै आफूलाई प्रभावशाली बलरका रूपमा स्थापित गरेका थिए। सोही प्रदर्शनका कारण मल्ल एनपिएलको ‘उदयमान खेलाडी’ घोषित हुँदै मोटरसाइकल पुरस्कारसमेत प्राप्त गर्न सफल भएका थिए।

एसपिए कलेजका निर्देशक शाहीका अनुसार सुदूरपश्चिम क्षेत्रबाट उदाएका प्रतिभाशाली खेलाडी मल्लको भविष्य उज्ज्वल देखिएकाले कलेजले उनलाई आफ्नो ब्रान्डसँग जोडेको हो। “शेर मल्लजस्ता अनुशासित र मेहनती खेलाडी युवा पुस्ताका लागि प्रेरणाको स्रोत हुन्,” शाहीले भने।

ब्रान्ड एम्बेसडर नियुक्तिपछि मल्लले एसपिए कलेजप्रति आभार व्यक्त गर्दै कलेजले दिएको विश्वास र सम्मानलाई आफूले खेल जीवनमा थप प्रेरणाका रूपमा लिने बताएका छन्।

 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.