आईसीसी यू–१९ विश्वकपका लागि थोमस रेउ इंग्ल्यान्ड टोलीको कप्तान
काठमाडौं, पुस ९ गते । सोमरसेटका विकेटकिपर–ब्याटर थोमस रेउलाई आगामी आईसीसी पुरुष यू–१९ क्रिकेट विश्वकपका लागि इंग्ल्यान्ड यू–१९ टोलीको कप्तान नियुक्त गरिएको छ। हालै अष्ट्रेलियामा सम्पन्न इंग्ल्यान्ड लायन्सको भ्रमणमा सहभागिता जनाएका रेउले विश्वकपमा टोलीको नेतृत्व गर्नेछन्।
रेउको अनुपस्थितिमा वेस्ट इन्डिजविरुद्धको सात खेलको युथ एकदिवसीय शृङ्खलामा टोलीको कप्तानी सम्हालेका फरहान अहमद यसपटक उपकप्तान नियुक्त भएका छन्।
यसैबीच, बायाँहाते स्पिनर अली फारूक ले पहिलो पटक यू–१९ टोलीमा स्थान बनाउँदै राष्ट्रिय टोलीमा डेब्युको अवसर पाएका छन्।
इंग्ल्यान्ड यू–१९ टोली:
थोमस रेउ (कप्तान), फरहान अहमद (उपकप्तान), राल्फी अल्बर्ट, बेन डकिन्स, कालेब फाल्कोनर, अली फारूक, एलेक्स फ्रेन्च, एलेक्स ग्रिन, लुक ह्यान्ड्स, म्यानी लम्सडेन, बेन मेयेस, जेम्स मिन्टो, इसाक मोहम्मद, जो मुरेस र सेबास्टियन मोर्गन।
टोलीका मुख्य प्रशिक्षक माइकल यार्डी ले विश्वकपअघि टोली सन्तुलित र प्रतिस्पर्धात्मक रहेको विश्वास व्यक्त गरेका छन्।
यार्डीले भने, “विश्वकपमा इंग्ल्यान्डको जर्सी लगाएर खेल्ने अवसर पाउनु खेलाडीहरूका लागि अत्यन्तै विशेष हो। उनीहरूलाई केही विशेष गर्ने मौका पनि यही हो।”
उनले थपे, “हाम्रो टोलीमा काउन्टी क्रिकेटको अनुभव भएका खेलाडीहरू छन् र यू–१९ स्तरमा सँगै खेल्दै राम्रो तालमेल विकास गरेका छन्, जुन प्रतियोगितामा उपयोगी हुनेछ।”
“जिम्बाब्वेजस्तो सुन्दर देशमा आयोजना हुने विश्वकप खेल्नु आफैंमा ठूलो अवसर हो। विभिन्न राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता प्रदर्शन गर्न खेलाडीहरू उत्साहित हुनेछन्,” यार्डीले बताए।
१६ टोली सहभागी हुने प्रतियोगितामा इंग्ल्यान्ड समूह ‘C’ मा परेको छ। इंग्ल्यान्डले जनवरी १६, शुक्रबार, हरारेमा पाकिस्तानविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ। त्यसपछि सह–आयोजक जिम्बाब्वे र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणबाट शीर्ष तीन टोलीले अर्को चरणमा स्थान बनाउनेछन्।

टिप्पणी लेख्नुहोस्