छैटौँ टाइगर कप पुरुष तथा महिला भलिबल माघ ९ देखि पोखरामा, १४ टोलीको सहभागिता
काठमाडौं, पुस ९ गते । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित टाइगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको छैटौँ संस्करण माघ ९ गतेदेखि पोखरामा आयोजना हुने भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ।
मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिएको हो। आयोजक संस्थाका अध्यक्ष नारायण शर्माका अनुसार यस संस्करणमा विदेशी टोलीसहित कुल १४ टोलीको सहभागिता रहनेछ।
पुरुषतर्फ गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल सङ्घ, माल्दिभ्स भलिबल एसोसिएसन तथा भारतको गुजरात भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब (रुपन्देही), युनाइटेड प्यासन भलिबल क्लब (थाइल्यान्ड) र थाइल्यान्ड क्विन्स सहभागी हुनेछन्।
प्रतियोगिताका दुवै विधातर्फ विजेता टोलीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ तथा तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६ सय ६६ रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीलाई ११ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितालाई सफल बनाउन मूल आयोजक समितिसहित १४ वटा उपसमिति गठन गरेर तयारी अघि बढाइएको सह–संयोजक डोलराज पोखरेलले जानकारी दिनुभयो।
गत संस्करणको तुलनामा यसपटक पुरस्कार राशि वृद्धि गरिएको हो। पाँचौँ संस्करणमा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले उपाधि जितेका थिए।

टिप्पणी लेख्नुहोस्