तमु ल्होसारको अवसरमा ताप्लेजुङमा खुला पुरुष फुटबल प्रतियोगिता, पुस ११ देखि सुरु
ताप्लेजुङ । गुरुङ समुदायको महत्वपूर्ण चाड तमु ल्होसारको अवसर पारेर ताप्लेजुङमा क्लबस्तरीय खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सदरमुकाम फुङ्लिङ नगरपालिका–६ मा पुस ११ देखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ।
तमु ल्होसार मूल आयोजक समिति र ताप्लेजुङ स्पोर्टिङ क्लबको सहआयोजनामा आयोजना हुने प्रतियोगिताको नाम दोस्रो स्व. पदमबहादुर गुरुङ स्मृति कप राखिएको छ। आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका र सहभागी क्लबहरूको विवरण सार्वजनिक गरेको हो।
खेल तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेल आयोजक टोली र साथीभाइ स्पोर्टिङ क्लबबीच हुनेछ। उद्घाटन दिनमै गोर्खाली स्पोर्टिङ क्लब र कर्णसिंह सोनाम फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
दोस्रो दिन पुस १२ गते मनमाया स्पोर्टिङ क्लब थुकिमा र मिनी स्पोर्टिङ क्लब फुरुम्बुबीच तथा कञ्चनजङ्घा फुटबल क्लब र तमु स्पोर्टिङ क्लबबीच खेल हुने तालिका रहेको छ।
तेस्रो दिन पुस १३ गते नेपाल प्रहरी क्लब ताप्लेजुङ र पाथीभरा युथ क्लब फावाखोला तथा नवप्रयास स्पोर्टिङ क्लब र केलाङ स्पोर्टिङ क्लब आमनेसामने हुनेछन्। पुस १४ गते तमु ह्युल छोँज धिँ, आयोजक ‘बी’ टोली तथा सेमिफाइनल चरणका खेलहरू सञ्चालन हुने ताप्लेजुङ स्पोर्टिङ क्लबका अध्यक्ष मणिराज गुरुङले जानकारी दिनुभयो।
अध्यक्ष गुरुङका अनुसार प्रतियोगिताको फाइनल खेल तमु ल्होसारको मुख्य दिन पुस १५ गते आयोजना गरिनेछ।
प्रतियोगिताको विजेता टोलीले १ लाख १५ हजार रुपैयाँ नगद, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। विजेता तथा उपविजेताका लागि प्रदान गरिने नगद पुरस्कार स्व. पदमबहादुर गुरुङका दाजु तिलबहादुर गुरुङ, छोरा फुराज गुरुङसहित परिवारजनको सहयोगमा उपलब्ध गराइने आयोजकको भनाइ छ।
यसैबीच तमु ल्होसारको अवसरमा फुङ्लिङ बजारमा साँस्कृतिक ¥याली, गुरुङ गुम्बा परिसरमा शुभकामना आदान–प्रदान कार्यक्रम तथा साँझ लोकदोहोरीसहित विविध सांस्कृतिक प्रस्तुति हुने तमु ल्होसार मूल आयोजक समितिले जनाएको छ। सांस्कृतिक समिति संयोजक सूर्य गुरुङका अनुसार कार्यक्रमले पर्वको रौनक थप्नेछ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), फुङ्लिङ नगरपालिका–६ का वडाध्यक्ष तेज गुरुङलगायत आयोजक समिति र ताप्लेजुङ स्पोर्टिङ क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
मौलिक संस्कृतिको संरक्षण, खेलकुद प्रवर्द्धन र जिल्लाको पर्यटन विकासमा योगदान पुर्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको स्थानीय अगुवा देवराज गुरुङले बताउनुभयो।

टिप्पणी लेख्नुहोस्