बीपीएलको उद्घाटन खेलमा राजशाही वारियर्सको विजयी सुरुवात, सन्दीपले लिए दुई विकेट
काठमाडौं। बङ्गलादेश प्रिमियर लिग (बीपीएल) २०२५ को पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध राजशाही वारियर्सले शानदार जित हात पारेको छ। राजशाहीले सिलेट टाइटन्सलाई दुई बल बाँकी रहँदा आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सुरुवात विजयीबाट गरेको हो।
पहिले ब्याटिङ गरेको सिलेट टाइटन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याएको राजशाही वारियर्सले १९ ओभर ४ बलमै १९२ रन जोड्दै सहज जित दर्ता गर्यो।
बलिङतर्फ सन्दीप लामिछानेले प्रभावशाली प्रदर्शन गर्दै चार ओभरमा ३८ रन खर्चिएर दुई महत्वपूर्ण विकेट लिए।। उनको कसीलो बलिङले सिलेटलाई ठुलो स्कोर बनाउन रोक्न महत्वपूर्ण भूमिका खेलेको थियो।
राजशाहीको जितमा नजमुल हुसेन शान्तो नायक बने। उनले ६० बलमा १० चौका र पाँच छक्का प्रहार गर्दै अविजित १०१ रनको शानदार शतक पूरा गरे। उनलाई अनुभवी ब्याट्सम्यान मुशफिकुर रहिमले साथ दिँदै चार चौका र दुई छक्कासहित ५१ रनको अर्धशतकीय इनिङ खेले।
यो सिजन सन्दीप लामिछाने पहिलो पटक राजशाही वारियर्सबाट बीपीएल खेल्दै छन्। यसअघि उनी सिलेट टाइटन्सबाट बीपीएलमा सहभागी भएका थिए।।

टिप्पणी लेख्नुहोस्