तेस्रो इन्टर कलेज टी–२० टुर्नामेन्ट, नमुना कलेज इटहरी र जनता मा.वि. विजयी
इटहरी । तेस्रो इन्टर कलेज टी–२० क्रिकेट टुर्नामेन्टअन्तर्गत शनीवार सम्पन्न पहिलो खेलमा नमुना कलेज इटहरीले विश्व आदर्श कलेज ‘बी’ टिमलाई १०२ रनको विशाल अन्तरले पराजित गरेको छ।
विश्व आदर्श कलेजले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नमुना कलेज इटहरीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५५ रन बनायो। नमुना कलेजका लागि गौरब कट्वालले २० बलमा ४० रनको आक्रामक इनिङ खेले। त्यस्तै, राजु बी.के.ले २२ बलमा ३३ रन र बिपुल शाहले २१ रनको योगदान दिए। बलिङतर्फ विश्व आदर्श कलेजका अनिल आचार्य र जस्बिन ढुंगानाले १–१ विकेट लिए।
१५६ रनको लक्ष्य पछ्याउने क्रममा विश्व आदर्श कलेज ‘बी’ टिम १० ओभर १ बलमै सबै विकेट गुमाउँदै जम्मा ५३ रनमै समेटियो। विश्व आदर्शका तर्फबाट पौल सिग्देलले १२ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। नमुना कलेजका बलर प्रकाश कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभर १ बलमा मात्र ३ रन खर्चेर ५ विकेट लिए। त्यस्तै, शुबित मेहताले ३ विकेट र गौरब कट्वालले १ विकेट लिए। खेलको ‘म्यान अफ द म्याच’ प्रकाश कार्की घोषित भए।
आजकै दोस्रो खेलमा जनता माध्यमिक विद्यालय इटहरीले रेड स्टार कलेज पथरीलाई ३ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको रेड स्टार कलेज १५ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८३ रनमै सीमित भयो। ८४ रनको सामान्य लक्ष्य पछ्याएको जनता मा.वि.ले १५ ओभर २ बलमा ७ विकेटको क्षतिमा ८४ रन बनाउँदै लक्ष्य पूरा गर्यो।

टिप्पणी लेख्नुहोस्