तेस्रो इन्टर–कलेज टी–२० क्रिकेट : विश्व आदर्श र कान्तिपुरको शानदार जित
इटहरी — तेस्रो इन्टर–कलेज टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमवार सम्पन्न पहिलो खेलमा विश्व आदर्श कलेजले कस्तुरी कलेज, इटहरीलाई फराकिलो २३७ रनको अन्तरले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको विश्व आदर्श कलेजले निर्धारित २० ओभरमा मात्र १ विकेट गुमाउँदै २७८ रनको विशाल स्कोर खडा गर्यो।
विश्व आदर्शका आकाश सराफले ५० बलमा ११२ रनको उत्कृष्ट शतकीय इनिङ्स खेले। त्यस्तै, रोशन खत्रीले अविजित रहँदै ५९ बलमा १०३ रन बनाए भने सकुशल श्रेष्ठले १८ रनको योगदान दिए।
बलिङतर्फ कस्तुरी कलेजका सिद्धार्थ यादवले १ विकेट लिन सफल भए।
२७९ रनको लक्ष्य पछ्याएको कस्तुरी कलेज १३ ओभरमै सबै विकेट गुमाउँदै जम्मा ४२ रनमै समेटियो। कस्तुरीका तर्फबाट आशिष अग्रवालले १५ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
विश्व आदर्शका बलरहरू प्रभावशाली देखिए, जसमा भुपाल लुइँटेलले ६ विकेट तथा अनिश कुवरले ४ विकेट लिए।
खेलको म्यान अफ द म्याच आकाश सराफ घोषित भए।
दोस्रो खेलमा रेड स्टार कलेज, पथरी र कान्तिपुर कलेज, विराटनगरबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा कान्तिपुर कलेजले रेड स्टार कलेजलाई ४२ रनले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको कान्तिपुर कलेजले १७ ओभरमा १४६ रन बनायो। कान्तिपुरका तर्फबाट निश्चल गुप्ता र मन्नु दासले समान ४३–४३ रन बनाए भने शम्भु मण्डलले ३७ रन जोडे।
बलिङतर्फ रेड स्टार कलेजका सुधिर बस्नेत र अभिषेक बी.के.ले समान १–१ विकेट लिए।
१४७ रनको लक्ष्य पछ्याएको रेड स्टार कलेज १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनमै सीमित भयो। रेड स्टारका लागि सुधिर बस्नेतले ३८ रन र अभिषेक बी.के.ले २८ रन बनाए।
कान्तिपुरका बलरहरूमा सन्तोष गुप्ताले ३ विकेट लिए भने मनिश यादव र आदित्य शाहले समान २–२ विकेट तथा अरबिन्द मण्डलले १ विकेट हात पारे।
खेलको म्यान अफ द म्याच कान्तिपुर कलेजका निश्चल गुप्ता घोषित भए।
पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका १२ कलेजको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसको सहकार्यमा सञ्चालन भइरहेको हो।
कलेजस्तरका क्रिकेट प्रतिभालाई उजागर गर्दै खेलकुदमार्फत शैक्षिक क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक इटहरी आदर्श जायन्ट्सले जनाएको छ।

टिप्पणी लेख्नुहोस्