तेस्रो इन्टर–कलेज टी–२० क्रिकेट : विश्व आदर्शको विशाल जित, महेन्द्र मोरङ विजयी
इटहरी — तेस्रो इन्टर–कलेज टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा विश्व आदर्श कलेजले शुस्मा गोदावरी कलेज, इटहरीलाई फराकिलो १९३ रनको अन्तरले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको विश्व आदर्श कलेजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३३ रनको चुनौतीपूर्ण स्कोर तयार गर्यो।
विश्व आदर्शका लागि सकुशल श्रेष्ठले ६२ बलमा १२० रनको विस्फोटक शतकीय इनिङ्स खेले। त्यस्तै, रोशन खत्रीले ३९ रन बनाए भने आकाश सराफले १४ रनको योगदान दिए।
बलिङतर्फ शुस्मा गोदावरी कलेजका रोशन पुरीले २ विकेट तथा सागर डोटेलले १ विकेट लिए।
२३४ रनको लक्ष्य पछ्याउने क्रममा शुस्मा गोदावरी कलेज १३ ओभर २ बलमै सबै विकेट गुमाउँदै जम्मा ४० रनमै समेटियो। शुस्मा गोदावरीका तर्फबाट कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
उत्कृष्ट प्रदर्शनका कारण सकुशल श्रेष्ठ खेलको म्यान अफ द म्याच घोषित भए।
आजकै दोस्रो खेलमा पुर्वाञ्चल इन्जिनियरिङ कलेज, धरान र महेन्द्र मोरङ कलेज, विराटनगरबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा महेन्द्र मोरङ कलेजले पुर्वाञ्चल कलेजलाई ६ विकेटले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको पुर्वाञ्चल कलेज १७ ओभरमै सबै विकेट गुमाउँदै १२२ रनमा सीमित भयो। पुर्वाञ्चलका तर्फबाट कासिम सन्जेलले ४९ रन बनाउँदा निशल कर्णाले ११ रन जोडे।
बलिङतर्फ महेन्द्र मोरङ कलेजका अखिलेश कोइरालाले ३ विकेट लिए भने प्रतीक पोखरेल, सन्दीप ढकाल र अटल शाहले समान २–२ विकेट तथा सागर मोचीले १ विकेट लिए।
१२३ रनको लक्ष्य पछ्याएको महेन्द्र मोरङ कलेजले १६.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। महेन्द्र मोरङका लागि अटल शाहले ५२ रनको अर्धशतकीय इनिङ्स खेले भने सागर मोचीले ३५ रन र बियुष बस्नेतले १० रनको योगदान दिए।
पुर्वाञ्चल कलेजका बलरहरूमा कासिम सन्जेल, अजित अटल, रुपेश भट्टराई र ज्ञानेन्द्रप्रसाद यादवले समान १–१ विकेट लिए।
खेलको म्यान अफ द म्याच महेन्द्र मोरङ कलेजका अटल शाह घोषित भए।
पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका १२ कलेजको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ तथा उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग र क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसको सहकार्यमा सञ्चालन भइरहेको हो।
कलेजस्तरका क्रिकेट प्रतिभा उजागर गर्दै खेलकुदमार्फत शैक्षिक क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक इटहरी आदर्श जायन्ट्सले जनाएको छ।

टिप्पणी लेख्नुहोस्