लेख विवरण

केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबलको तयारी पूरा

केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबलको तयारी पूरा

काठमाडौं, पुस २२ गते । शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा हुने नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बुधबारदेखि ४ दिनसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो दिन २ खेल हुने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाएका छन् ।

पहिलो खेल सातौं संस्करणको विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाली आर्मी तथा दोश्रो खेल साविक विजेता नेपाल प्रहरी र सुरुका ६ संस्करणको विजेता एपीएफ क्लबबीच हुनेछ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा यिनै ४ टिम सहभागी छन् । राउन्ड रोविन लिगमा शीर्ष २ स्थानमा रहने टिमले पुनः उपाधिका लागि खेल्ने छन् ।

बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशी १३ लाख रुपैयाँ रहेको छ । विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रथम पुरस्कार लाइफ इन्स्योरेन्स कोर्पोरेसन नेपाल लिमिटेड, दोश्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट प्रा.लि. र तेश्रो पुरस्कार फिट्नेस च्वाइसले प्रायोजन गरेका छन् ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ । यो पुरस्कार हाइलाइफले प्रायोजन गरेको छ । विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटनका अवसरमा एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजार नगदसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गरिने छ ।
अन्य सहयोगीमा एभरेष्ट बैंक, माछापुच्छ«े बैंक, नविल बैंक, ग्लोबल बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी बैंक, आईसीएफसी फाइनान्स, मन्जुश्री फाइनान्स, सांग्रिला कार्गो, ट्रेङक्युलिटि स्पा, केल्मी, केएफसी, मर्कुरी होटल, बाराही होटल, आईजीआई प्रुडेन्सियल फाइनान्स, बुद्ध एयर, चाँगुनारायाण नगरपालिका र सिमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.