लेख विवरण

ओप्स खेलकुदको ४ सय मिटर दौडमा अंकित र अनितालाई स्वर्ण

ओप्स खेलकुदको ४ सय मिटर दौडमा अंकित र अनितालाई स्वर्ण

काठमाडौं, पुस २४ गते । आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा हिमरश्मिका अंकित अधिकारी र न्युटनकी अनिता बुढले बिहीबार स्वर्ण जितेका छन् । अंकित छात्र तथा अनिता छात्रामा पहिलो भएका हुन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको प्रतिस्पर्धामा अंकितले निर्धारित दूरी ६२.१४ सेकेन्डमा पूरा गरे । न्यु एराका पेम्बा तमु र ज्ञान मन्दिरका विकास गुरुङ तेश्रो भए । अनिताले १ मिनेट १६ सेकेन्डमा निर्धारित दूरी तय गरिन् । कौशलकी रोशिका महराले रजत र विभूतिकी वर्षा श्रेष्ठले कांस्य जिते ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा भइरहेको प्रतियोगतिाको छात्र १ सय मिटर दौडमा कौशलका करण भुल १२.५२ सेकेन्ड समयसाथ पहिलो भए । सेक्रेड हार्टका विक्रान्त खतिवडा दोश्रो र विभूतिका सुप्रित सापकोटा तेश्रो बने । सोही स्पर्धाको छात्रामा कौशलकी सेमिनु लामाले निर्धारित दूरी १५.२८ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । प्रगतिकी दिप्शिका थापा दोश्रो तथा हिमरश्मि सविना थापा तेश्रो भए ।

छात्र हाइजम्पमा विूभितका पुजन परियार पहिलो भए । उनले १.५४ मिटर उचाइ नाघे । हिमरश्मिका आदर्श थिङ र ज्ञान मन्दिरका श्रृजन खत्री तेश्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा कौशलकी सेमिनु लामा पहिलो भइन् । विभूतिकी रितिका थारु दोश्रो तथा हिमरश्मिकी सुविशा थापा तेश्रो भए ।

छात्र लङजम्पमा ज्ञान मन्दिरका सुसन थापा मगर ४.८१ मिटरसाथ पहिलो भए । विभूतिका पासाङ तामाङ दो।ो र हिमरश्मिका मजिल बोगटी तेश्रो भए । उक्त स्पर्धाको छात्रामा हिमरश्मिकी आयुष्मा तामाङ ३.५९ मिटरसाथ शीर्ष स्थानमा रहिन् । कौशलकी रोशिका महरा दोश्रो र ज्ञान मन्दिरकी प्रगति भुजेल तेश्रो बने ।

सटपुटको छात्रमा ज्ञान मन्दिरका आर्यन गुरुङले स्वर्ण, विभूतिका संविधान चौधरीले रजत र हिमरश्मिका सलोन रसाइलीले कांस्य जिते । त्यसै स्पर्धाको छात्रामा सेबकी मोनिका गुरुङ पहिलो, विभूतिकी निग्मा शेर्पा दोश्रो र सेक्रेड हार्टकी सोनिया तामाङ तेश्रो भए । एथलेटिक्सको अन्तिम दिन शुक्रबार ८ स्पर्धाको फाइनल हुनेछ ।

खेलकुद महोत्सवअन्तर्गत ३ स्पर्धा समावेश ब्याडमिन्टनको सेमिफाइनल समीकरण तयार भएको छ । छात्र÷छात्रा सिंगल्स र मिक्स डबल्समा सेमिफाइनल समीकरण पूरा भएको आयोजकले जनाएको छ । ब्याडमिन्टन पनि शुक्रबार नै सम्पन्न हुनेछ । त्यसपछि फुटसल र भलिबलको प्रतिस्पर्धा सुरु हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.