विश्वआदर्श र नमुना कलेज फाइनलमा, तेस्रो अन्तरकलेज टी–२० क्रिकेटको उपाधि भिडन्त शनिबार
सुनसरी । इटहरीमा जारी तेस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विश्वआदर्श कलेज र नमुना कलेज प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा विश्वआदर्शले विराटनगरको कान्तिपुर कलेजलाई पराजित गर्दा नमुना कलेजले दमकको आस्था कलेजलाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा इटहरीको विश्वआदर्श कलेजले कान्तिपुर कलेजलाई ४५ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । विश्वआदर्शले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य पछ्याएको कान्तिपुर ७ विकेट गुमाउँदै १ सय ७ रनमै सीमित बन्यो । कान्तिपुरका मन्नु दासले सर्वाधिक ३८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । सीताराम कामतले १४ र निश्चल गुप्ताले ११ रन जोडे । विश्वआदर्शका अनिष कुँवरले ३ तथा भूपाल लुइँटेलले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विश्वआदर्शले निर्धारित १७ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५८ रनको योगफल खडा गरेको थियो । रोशन खत्रीले ५१ रनको अर्धशतकीय इनिङ खेल्दा भूपाल लुइँटेलले ४७ र आकाश सर्राफले २९ रन बनाए । कान्तिपुरका सन्तोष गुप्ता र खेमराज हमालले क्रमशः २ र १ विकेट लिए । उत्कृष्ट प्रदर्शनका लागि भूपाल लुइँटेल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
त्यसैगरी शुक्रबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा इटहरीको नमुना कलेजले आस्था कलेजलाई ४ रनको रोमाञ्चक अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले १७ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।
नमुनाका कप्तान गौरव कटुवालले अविजित ६१ रनको उत्कृष्ट इनिङ खेले । ४४ बलको सामना गरेका उनले ३ छक्का र ६ चौका प्रहार गरे । कृष्ण विष्टले १९ र राजु विकले १४ रन बनाए । आस्थाका आशिष राणामगरले २ विकेट लिए ।
जवाफमा १ सय ३५ रनको लक्ष्य पछ्याएको आस्थाले १७ ओभरमा ४ विकेट गुमाउँदै १ सय ३१ रन मात्र बनाउन सक्यो । आस्थाका भूपाल दंगालले अविजित ५० रन बनाए भने सार्थक न्यौपानेले २४ रन जोडे । यस खेलमा गौरव कटुवाल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
नमुना कलेज र विश्वआदर्श कलेजबीचको उपाधि भिडन्त शनिबार हुने आयोजक इटहरी आदर्श जाइन्ट्सले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्