लेख विवरण

विश्वआदर्श कलेज च्याम्पियन, तेस्रो अन्तरकलेज टी–२० क्रिकेटको उपाधि इटहरीमै

विश्वआदर्श कलेज च्याम्पियन, तेस्रो अन्तरकलेज टी–२० क्रिकेटको उपाधि इटहरीमै

सुनसरी । तेस्रो संस्करणको अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधि इटहरीको विश्वआदर्श कलेजले जितेको छ । शनिबार इटहरीमा सम्पन्न फाइनल खेलमा विश्वआदर्शले नमुना कलेजलाई ५१ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि जितेको विश्वआदर्श गत संस्करणको फाइनलमा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससँग पराजित भएको थियो । यसपटक भने विश्वआदर्शले सशक्त प्रदर्शन गर्दै पुनः उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।

इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा विश्वआदर्शले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य पछ्याएको नमुना कलेज १८ ओभरमा अलआउट हुँदै १ सय ७ रनमै सीमित भयो । नमुनाका बिपन शाहले सर्वाधिक ४७ रन बनाए । राजु विकले १८ र कृष्ण विष्टले १२ रन जोड्दा अन्य ब्याटरहरू प्रभाव जमाउन असफल भए । विश्वआदर्शका अनिष कुँवरले महत्वपूर्ण ४ विकेट लिँदै टोलीको जितमा निर्णायक भूमिका खेले । रोहन शाह र समीर तिम्सिनाले समान २–२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विश्वआदर्शले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । रोहन शाहले सर्वाधिक ३७ रन बनाए भने आकाश सर्राफले ३०, समीर तिम्सिनाले २५, आयुष ढुङ्गेलले १३ र रोशन खत्रीले १२ रनको योगदान दिए । नमुनाका सुबित मेहताले ३ तथा राजु विकले २ विकेट लिए ।

फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ विश्वआदर्शका अनिष कुँवर घोषित भए । प्रतियोगिताको विजेता विश्वआदर्शले नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेता नमुना कलेजले नगद १५ हजार रुपैयाँमा चित्त बुझायो ।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) विश्वआदर्शका कप्तान भूपाल लुइँटेल घोषित भए । अनिष कुँवर उत्कृष्ट बलर र रोशन खत्री उत्कृष्ट ब्याटर घोषित भए ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापा, विश्वआदर्श कलेजका प्राचार्य गणेश दुलाल, कोसी प्रिमियर लिग विजेता नमुना ब्लास्टर्सका मालिक धर्म न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए ।

इटहरी आदर्श जाइन्ट्सको आयोजनामा पुस १९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेज टिमले सहभागिता जनाएका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.