एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु, १ सय ८० खेलाडीको प्रतिपस्र्धा
काठमाडौं । २०८२ साल पौष २७ गते आइतबार
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि ‘प्लेयर ट्रायल्स’ आइतबार सुरु भएको छ, जसमा उत्कृष्ट प्रदर्शन गर्दै एनेकएल ड्राफ्टमा स्थान बनाउन १ सय ८० खेलाडी उत्रिएका छन् ।
नेपाली कबड्डीमा व्यावसायिक प्रतियोगिता प्रारम्भ गरेको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले दोस्रो सिजनको लागि दर्ता भएका ५ सय १२ जना खेलाडीमध्ये प्राविधिक टोलीको छनोटको आधारमा १ सय ८० खेलाडी प्लेयर ट्रायल्समा सहभागि भएका हुन् । दुई दिने ट्रयल्सको पहिलो दिन आइतबार ९० खेलाडीले प्रतिस्पर्धा गरे । व्यक्तिगत रुपमा दर्ता भएपनि उनीहरूलाई टिममा विभाजन गर्दै कोर्टमा उतारिएको थियो । बाँकी ९० खेलाडीले दोस्रो दिन सोमबार आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।
प्लेयर ट्रयल्समा राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम मगर (काठमाडौं माभिरक्सका मार्की र एनकेएल पहिलो सिजनका सर्बोत्कृष्ट खेलाडी), महिला टिमकी कप्तान मानमति विष्ट, एनकेएल पहिलो सिजनको च्याम्पियन जनकपुर नाइट्सका प्रशिक्षक पार्वती राई र मार्की रामु टमाटा, विराटनगर ब्यान्ड्सिटका कप्तान कल्याण भुजेलको सक्रिय सभागिता रहेको छ । ड्रफ्टमा स्थान बनाउन पूर्व झापादेखि पश्चिम दाचुर्लासम्मका खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् ।
एनकेएलले नेपाल कबड्डी संघ (एन्का) को सहकार्यमा तयार पारेको प्राविधिक टोलीले प्लेयर ट्रयल्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एनकेएल ड्राफ्टमा छनोट गर्ने एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए । फ्रेन्चाइजको आधारमा बनाइएका ६ सहरका ६ टिमले ड्राफ्टमार्फत् एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् ।
बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो । उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो । अहिले दोस्रो सिजनको तयारीलाई तीब्रता दिइएको छ । एनकेएल सिजन २ को तयारीमा एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि आयोजना गर्दैछ ।
फ्रेन्चाइज टिमको आधारमा पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम रोका मगर र हिमालयन रेइडर्सका गणेश पार्कीले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेलेका थिए । एनकेएल सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।

टिप्पणी लेख्नुहोस्